पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा विमान कम्पनीलाई आकर्षित गर्न सरकारले ‘बम्पर उपहार’ योजना ल्याए पनि अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन। ऋण लिएर निर्माण गरेका यी दुई विमानस्थलबाट उडान भर्ने विमान कम्पनीलाई छुटैछुटका प्याकेज दिए पनि अन्तर्राष्ट्रिय उडान नहुँदा विमानस्थल सञ्चालनमा कठिनाइ भएको छ। अहिले पोखरा र भैरहवाबाट सातामा एकएक वटा मात्र अन्तर्राष्ट्रिय उडान हुन्छ।
यी विमानस्थलबाट उडान भर्ने कम्पनीलाई यात्रु सेवा शुल्क, पार्किङ, ल्यान्डिङ र न्याभिगेसन शुल्क, पर्यटन शुल्क, ग्राउन्ड ह्यान्डलिङ शुल्क र हवाई इन्धनमा छुट दिँदा पनि अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन। सबै प्रकारका छुट दिँदा पनि अन्तर्राष्ट्रिय उडान हुन नसक्नु चिन्ताको विषय भएको क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए। ‘विमानस्थलमा उठाउने सबै शुल्क छुट गरेका छौं,’ भुलले भने, ‘छुट दिए पनि उडान नहुँदा प्राधिकरण धराशयी हुने जोखिम बढेको छ।’
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२३ को जनवरी र भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २०२२ मेबाट सञ्चालनमा आएका थिए। क्यानले करोडौं रुपैयाँ घाटा खाएर सेवा दिइरहेको भुलले बताए। ऋणमा निर्माण गरेका यी दुई विमानस्थलको साँवाब्याज तिर्न पनि कठिनाइ भएको छ। ‘कमाएर ऋणको किस्ता तिर्नुपर्नेमा कर्मचारी खटाएको रकम पनि उठ्न सकेको छैन,’ उनले भने।
पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानको टिकटमा लगाउने गरिएको तीन हजार रुपैयाँ यात्रु सेवा शुल्क पूर्ण रूपमा छुट दिइएको छ। त्यसैगरी दुवै विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा पार्किङ, ल्यान्डिङ र न्याभिगेसन शुल्क र अन्तर्राष्ट्रिय उडानको टिकटमा लगाउने गरिएको एक हजार पर्यटन शुल्कमा पूर्ण रूपमा छुट दिइएको पर्यटन मन्त्रालयले जनाएको छ।
त्यसैगरी अन्तर्राष्ट्रिय उडानमा ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ७५ प्रतिशत छुट दिने निर्णय गरिएको छ। एक सय ५० जना बोक्ने जहाजले ग्राउन्ड ह्यान्डलिङबापत पाँच हजार डलर तिर्नुपर्छ। ७५ प्रतिशत छुट हुँदा एउटा जहाजले ३७ सय ५० डलर छुट पाउँछ। त्यसैगरी नेपाल आयल निगमले प्रतिकिलोलिटर हवाई इन्धनमा एक सय डलर छुट दिएको छ।
‘नागरिक उड्डयन क्षेत्रको समग्र सुधार तथा गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी कार्ययोजना’ बमोजिम २०८३ भदौ मसान्तसम्म यो छुट सहुलियत सुविधा दिइएको हो। हरेक अन्तर्राष्ट्रिय उडानमा करिब चार–पाँच लाख रुपैयाँ योगदान गर्दा पनि ती विमानस्थलमा उडान हुन सकेको छैन। ती विमानस्थलबाट यात्रु नपाएपछि अन्तर्राष्ट्रिय उडान भर्न विमान कम्पनी अनिच्छुक देखिएका हुन्। केही समय उडान भरेका विमान कम्पनीले यात्रु पाउन छाडेपछि उडान रोकेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिका क्रममा केही समय भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भए पनि अहिले नेपाल एयरलाइन्सले सातामा एक दिन मलेसियाबाट फर्कंदा भैरहवामा अवतरण मात्र गर्ने गरेको छ।
त्यसैगरी पोखराबाट हिमालय एयरलाइन्सले सातामा एउटा उडान चीनको ल्हासाका लागि भर्ने गरेको छ। यस उडानमा पनि पर्याप्त यात्रु हुँदैनन। पोखराबाट एकाध चार्टर फ्लाइट भने हुने गरेका छन्।

भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलमा आवश्यक श्रम कार्यालय, इमिग्रेसन, क्वारेन्टाइनलगायतका सुविधा नभएका कारण पनि त्यहाँबाट उडान हुन नसकेको क्यानका अधिकारी बताउँछन्। ‘अन्य सबै कामका लागि काठमाडौं आउनुपर्ने भएकाले यात्रु पोखरा र भैरहवा नगएका हुन्,’ क्यानका सूचना अधिकारी भुलले भने, ‘सबै सेवा सम्बन्धित ठाउँमा दिनुपर्यो।’
यी दुई विमानस्थलले यहाँबाट हुने आन्तरिक उडानले सञ्चालन खर्च धाने पनि ऋण तिर्न भने सकेका छैनन्। ऋण लिएर बनाएका विमानस्थल नचल्दा मुलुक नै ऋणको पासोमा पर्ने हो कि भन्ने चिन्ता छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न चीनबाट करिब २८ अर्ब रूपैयाँ ऋण लिइएको छ।
त्यस्तै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बनाउन एसियाली विकास बैंकको ऋण, ओपेक फन्ड ऋणसहित करिब साढे नौ अर्ब रूपैयाँ लगानी गरिएको छ। ती विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नभएपछि विमानस्थल सञ्चालन खर्च र ऋणको ब्याज तिर्नै कठिन भएको छ।
प्रकाशित: २५ श्रावण २०८२ ०६:४८ आइतबार





