काठमाडौंको राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको स्वास्थ्य अवस्था वीर अस्पतालको सघन उपचार कक्षमा अत्यन्तै नाजुक बनिरहँदा उनको परिवार अर्को ठूलो बज्रपातमा परेको छ।
अस्पतालमा जीवन र मरणको दोसाँधमा रहेका गणेशको ज्यान जोगाउन आवश्यक औषधिसमेत उधारोमा किन्नुपरेको उनका दाजु मदन नेपालीले बताएका छन्।
कृषि विषय अध्ययन गरेर पनि रोजगारी नपाएपछि काठमाडौंमा पठाओ चलाएर परिवार पाल्दै आएका मुगुका गणेशको आर्थिक अवस्था पहिलेदेखि नै निकै कमजोर थियो।
बिहीबार नगरप्रहरीले मोटरसाइकल उठाउन खोजेपछि आवेगमा आएर आत्मदाह प्रयास गरेका गणेशका दाजु मदनले भने, ‘भाइ अस्पतालको बेडमा छटपटाइरहेको छ। हामीसँग उपचार गर्ने पैसा त परको कुरा, तत्काल चाहिने आकस्मिक औषधिसमेत उधारोमा ल्याउनुपर्ने अवस्था छ।’
वीर अस्पतालका अनुसार गणेशको अनुहार, घाँटी, छाती, दुवै हात र खुट्टासहित शरीरको ६० प्रतिशतभन्दा बढी भाग जलेको छ।
मुगुको सोरु गाउँपालिका–१ स्थायी घर भई भक्तपुरमा बस्दै आएका गणेशको घरमा श्रीमती र साना सन्तान छन्। गणेश पठाओ चलाएर आउने दैनिक कमाइले कोठाभाडा र छाक टार्ने गर्थे।
आफ्नो मोटरसाइकल महानगरको नगरप्रहरीले खोस्न खोजेपछि उत्पन्न आक्रोशले गणेशलाई अस्पतालको शय्यामा पुर्यायो हो। पीडित परिवारले गणेशको जीवन रक्षाका लागि सहयोग गरिदिन सरोकारवाला निकायहरूसँग अपिलसमेत गरेको छ।
प्रकाशित: २५ असार २०८३ १७:०१ बिहीबार





