२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml
समाज

चीनले भवन र उपकरण दिने भएपछि बिपीले जनशक्ति तयार गर्न थाल्यो

चीन सरकारले बोनम्यारो प्रत्यारोपणका लागि भवन र उपकरण दिने भएपछि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले जनशक्ति तयार गर्न थालेको छ। चिनियाँ विज्ञहरूको टोलीले अस्पतालको निरीक्षण गरेपछि यहाँका चिकित्सक र स्वास्थ्यकर्मीलाई प्रशिक्षण दिन चीन पठाउने भएको छ।

पाँच दिनअघि आएको सात सदस्यीय चिनियाँ विज्ञ टोलीले विभिन्न विभागका चिकित्सक र स्वास्थ्यकर्मीसँग अन्तरक्रिया गरी आवश्यक पूर्वाधारबारे राय लिएको छ।

बोनम्यारो प्रत्यारोपणका लागि चिनियाँ टोली यहाँ रहँदा नेपालका लागि चिनियाँ राजदूतावासका प्रथम काउन्सिलर वाङ सिन यहाँ आए। उनले चीन–नेपाल बोनम्यारो प्रत्यारोपण परियोजना औपचारिक रूपमा सुरु भएको बताए।

उनले यो परियोजनालाई दुवै मुलुकबीचको स्वास्थ्य सहकार्यको ऐतिहासिक कदमका रूपमा व्याख्या गरे। सिनले चीन र नेपाल सात दशकदेखि असल छिमेकी, सत्यनिष्ठ मित्र र भरपर्दा साझेदारका रूपमा अगाडि बढ्दै आएको उल्लेख गर्दै हिमालजस्तै अटल यो मित्रता स्वास्थ्य क्षेत्रमा अझ गहिरो रूपमा प्रकट भइरहेको बताए।

सो अवसरमा अस्पताल सञ्चालक समितिका अध्यक्ष डा. विजय न्यौपानेले छिटो काम सम्पन्न गर्न चिनियाँ सरकारले चासो दिएको भन्दै सबैको साथ र सहयोगबाट बोनम्यारो प्रत्यारोपणको काम थालिने बताए।

अस्पतालका मेडिकल अङ्कोलोजी विभागका प्रमुख डा. गुरुशरण साहले चिनियाँ विज्ञ टोलीले पाँच दिनसम्म स्थलगत अध्ययन गरेको र जनशक्ति तालिमलाई प्राथमिकता दिनुपर्ने बताए।

डा. साहका अनुसार, बोनम्यारो प्रत्यारोपण सेवा एउटा विभागले मात्र सम्भव नहुने भएकाले मेडिकल अङ्कोलोजी, हेमाटोलोजी, आइसियु, रेडिएसन अङ्कोलोजी र प्याथोलोजीजस्ता विभागको संयुक्त क्षमता आवश्यक हुन्छ। ‘डाक्टर मात्र सक्षम भएर पुग्दैन, नर्स, प्यारामेडिक्स र अन्य प्राविधिक पनि दक्ष हुनुपर्छ,’ डा. साहले भने।

चीनको हेबेई मेडिकल विश्वविद्यालयको चौथो अस्पताल यो परियोजनाको मुख्य जिम्मेवार पक्ष हो। चीनको बोनम्यारो ट्रान्सप्लान्ट (बिएमटी) टोलीका प्रमुख एवं नेपालमा कार्यरत १५ औँ चिनियाँ चिकित्सक टोलीका नेता डा. झाओ गुइमिनले चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनशक्ति तालिम र क्षमता विकासमा सहयोग गर्ने बताए।

चीन सरकारले अस्पतालको प्रशासनिक भवन नजिक दुईतले नयाँ भवन निर्माण, उपकरण जडान र जनशक्तिलाई तालिम दिने छ। सबै काम चिनियाँ सरकारले गर्ने भएकाले वास्तविक लागत अस्पतालमा नआउने भए पनि काम सम्पन्न गर्न करिब २० करोड रुपियाँ खर्च हुने अनुमान गरिएको अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले बताए।

डा. पौडेलका अनुसार नेपालका लागि चिनियाँ राजदूत चेन सोङले अस्पतालमा रोबोटिक सर्जरी, रेडियोथेरापीका लागि लिन्याक मेसिन र सात प्रदेशमा सञ्चालित विस्तारित सेवाका लागि सवारीसाधन व्यवस्था गर्ने प्रतिबद्धता जनाए। उनले भने, ‘राजदूतले रकमको व्यवस्था हुन्छ, आवश्यक प्रक्रिया अघि बढाउनु भनेपछि हामी अघि बढेका छौँ।’

क्यान्सर अस्पतालबाट पछिल्लो दुई वर्षमा ५० जना चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई चीन पठाएर तालिम गराइएको छ। अब प्रत्यारोपणका लागि चिकित्सक र नर्सलाई तालिमका लागि चीन पठाइने छ। यो अस्पताल चीन सरकारले बनाएको हो। रासस

प्रकाशित: ३ भाद्र २०८२ २१:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App