स्याङ्जाको गल्याङ नगरपालिका-८ करादीस्थित भित्री सडकखण्डमा सोमबार साँझ बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार दुर्घटनामा गल्याङ नगरपालिका-८ की २५ वर्षीया निशा पचभैया र वडा नम्बर-९ का ६० वर्षीय यमबहादुर विकको घटनास्थलमै ज्यान गएको हो।
दुर्घटनामा घाइते भएका १७ जनामध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ। गम्भीर घाइते २७ वर्षीया वसन्ती विश्वकर्मा र ४८ वर्षीया देवी विकलाई थप उपचारका लागि पाल्पास्थित युनाइटेड मिसन अस्पताल पठाइएको छ।
अन्य घाइतेहरूको गल्याङ नगर अस्पतालमा उपचार भइरहेको छ भने सामान्य घाइते भएका पाँच जना उपचारपछि डिस्चार्ज भई घर फर्किएका छन्।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशदत्त अवस्थीका अनुसार गल्याङ बजारबाट वडा नम्बर ९ साङलियातर्फ जाँदै गरेको ग १ ज ६५३४ नम्बरको बोलेरो जिप साँझ करिब ५:४५ बजे उकालो घुम्तीमा अनियन्त्रित भई दुर्घटनामा परेको हो।
घटनालगत्तै पुगेको प्रहरी टोलीले स्थानीयको सहयोगमा घाइतेहरूको उद्धार गरेको थियो। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
प्रकाशित: ८ भाद्र २०८३ २०:५५ सोमबार





