कटारीमा शुक्रबार भएको सवारी दुर्घटनामा ६ वर्षीय बालकदेखि ६८ वर्षीय वृद्धसम्म १६ जना घाइते भएका छन्। सिरहाको मिर्चैया–कटारी–घुर्मी सिद्धिचरण लोकमार्गअन्तर्गत कटारी नगरपालिका–४ को बिजुलेडाँडामा भएको दुर्घटनामा १६ यात्रु घाइते भए।
कटारी बजारबाट लेखानीतर्फ यात्रु लिएर जाँदै गरेको बा ७ च ३६९५ नम्बरको बोलेरो दिउँसो १५:३० बजे आफैँ अनियन्त्रित भई सडकको बायाँतर्फ पल्टेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएकाहरूलाई उद्धार गरी प्रादेशिक अस्पताल कटारीमा भर्ना गरिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि रिफर गरिएको छ।
अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. गौरव साहले भने, ‘भर्ना भएका १६ मध्ये सामान्य घाइते एक जना डिस्चार्ज भएका छन् भने बाँकी १५ जनालाई विभिन्न अस्पताल रिफर गरिएको छ।’ जसमध्ये तीन जनालाई काठमाडौं र बाँकीलाई विराटनगर र धरान रिफर गरिएको उनले बताए।
दुर्घटनामा घाइते हुनेमा ६ वर्षीय बालक कटारी–५ का चन्द्रबहादुर तामाङदेखि ६८ वर्षीय वृद्ध कटारी–८ का कृष राई छन्। अन्य घाइतेहरूमा सिन्धुलीको दुधौली नगरपालिका–१४ का ६७ वर्षीय क्षेत्रबहादुर मगर, कटारी–८ का ४५ वर्षीय अर्जुन तामाङ, सोही वडाका २५ वर्षीया राममाया तामाङ, ३३ वर्षीया मीनाकुमारी तामाङ, ३० वर्षीया दुर्गा दुलाल, २४ वर्षीया मनिषा दुलाल, १३ वर्षीय लाटाङ तामाङ छन्।
त्यसैगरी, कटारी–८ का ५२ वर्षीय दिलबहादुर तामाङ, ५९ वर्षीय अमृतबहादुर तामाङ, ६२ वर्षीय रत्नलाल तामाङ, ४३ वर्षीय मानबहादुर श्रेष्ठ, कटारी–१४ का ३४ वर्षीय देवबहादुर राई र २२ वर्षीया लक्ष्मी तामाङ घाइते भएका छन्।
चालक कटारी–१४ लेखानीका ३० वर्षीय सागर राईलाई इलाका प्रहरी कार्यालय कटारीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। बोलेरो घटनास्थलमै छ भने सडक अवरोध नभएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी केदारमान दोङले बताए।
प्रकाशित: ७ कार्तिक २०८२ २२:३८ शुक्रबार





