डोल्पामा बोलेरो जिप दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ।
मुड्केचुला गाउँपालिका–३ काङ्ग्रे खोलामा मंगलबार साँझ करिब ५:१८ बजे ईल (खर्क) बाट त्रिवेणीतर्फ जाँदै गरेको बा.१७ च. ३९७० नम्बरको बोलेरो जिप अनियन्त्रित भई करिब ३०–४० मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा चालक मुड्केचुला–३ भोटगाउँका २३ वर्षीय सल्मान रोकायाको घटनास्थलमै मृत्यु भएको हो। हाल रुकुम पश्चिम को त्रिवेणीमा बसोबास गर्दै आएका रोकाया एक्लै जिप चलाइरहेका थिए।
घटनालगत्तै नेपाल प्रहरी को टोली घटनास्थलमा पुगेको थियो। इलाका प्रहरी कार्यालय कालिका डोल्पाबाट प्रहरी सहायक निरीक्षक हरक सिंह लोथ्यालको नेतृत्वमा ५ जना तथा प्रहरी चौकी ईलबाट प्रहरी सहायक निरीक्षक विनोद कुमार थापाको नेतृत्वमा ४ जनाको टोली खटिएको थियो।
मृतकको शव घटनास्थलमै राखिएको छ भने दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
डोल्पाका दुर्गम र जोखिमपूर्ण सडकका कारण यहाँ सवारी दुर्घटना दोहोरिँदै आएका छन्। यस घटनाले फेरि पनि पहाडी यात्राको जोखिम र सडक पूर्वाधारको चुनौती उजागर गरेको छ।
प्रकाशित: ३ चैत्र २०८२ २१:३१ मंगलबार





