रौतहटको देवाही गोनाही नगरपालिका २ लक्ष्मिनियास्थित लालबकैया नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये दुई जनाको शव फेला परेको छ।
मंगलबार दिउँसो करिब १ः५० बजे नदीमा नुहाउने क्रममा तीन बालबालिका डुबेर बेपत्ता भएका थिए। बेपत्ता भएकामध्ये दुई जनाको शव बुधबार बिहान करिब ७ बजे घटनास्थलबाट करिब २.५ किलोमिटर दक्षिणतर्फ परोहा नगरपालिका-२, जिंगडवास्थित लालबकैया नदीमा तैरिरहेको अवस्थामा फेला पारिएको हो।
फेला परेको शव देवाही गोनाही नगरपालिका -२, लक्ष्मिनिया बस्ने शेख अमरे आलमका करिब १० वर्षीय छोरा मोहमद रमतुल्लाह र सोही स्थानका शेख ओसि अख्तरकी करिब १० वर्षीया छोरी सवनम खातुनको शव फेला परेको प्रहरीले बताएको छ।
शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल गौरमा पठाइएको छ भने बेपत्ता तेस्रोको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले बताएको छ।
प्रकाशित: २७ श्रावण २०८३ ०८:२६ बुधबार





