विगत दुई वर्षदेखि हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का विद्यार्थी विपिन जोशीको अवस्थाका विषयमा विपिनका परिवार र इजरायलस्थित नेपाली दूतावाससँग ‘भिडियो कन्फरेन्स’ भएको छ।
उक्त भिडियो कन्फरेन्समा जोडिएका विपिनका परिवारका सदस्य किशोर जोशीले आज नियन्त्रण मुक्त हुन लागेका २० जना बन्धकमा विपिनको नाम नरहेको इजरायली सरकारका तर्फबाट इजरायली डिफेन्स फोर्स (आइडिएफ) ले जानकारी गराएको बताए।
‘आज छुट्ने लिष्टमा विपिनको नाम छैन फेरि पनि हामी निरन्तर अपडेट गर्छौं भनेर इजरायलबाट भनिएको छ,’ जोशीले भने, ‘अहिले छुट्नेमा विपिनको नाम नरहे पनि हामी उनी छुट्नेमा पूर्ण आशावादी छौं, अहिले नै उनी छैनन् भन्न मिल्दैन।’
जोशीका अनुसार इजरायली प्रतिनिधि, संयुक्त राज्य अमेरिकाबाट विपिनका आमा र बहिनी, इजरायलस्थित नेपाली राजदूत र आफूसहितको भिडियो कन्फरेन्स आज बिहान भएको हो।
विपिनको नाम जीवित बन्धकको सूचीमा नरहेको समाचार प्रकाशित भइरहेका बेला विपिनको परिवारले अर्को चरणमा छुट्नेमा आशा रहेको जनाएको छ। दुई वर्षको अवधिमा भएका युद्धविराम र बन्दी साटासाट क्रममा हमासले २०० भन्दा बढी बन्धक यसअघि छाडेको थियो।
विपिनको सकुशल रिहाइका लागि उनको परिवार र नेपाल सरकार लामो समयदेखि प्रयासरत छन्। विपिनका आमा र बहिनी उनको खोजी कार्यमा पहल गर्न गुहार माग्न अमेरिका पुगेका छन् भने बुवा महानन्द जोशी महेन्द्रनगरमा छोरा विपिनको व्यग्र प्रतीक्षामा छन्। रासस
प्रकाशित: २७ आश्विन २०८२ १२:५८ सोमबार





