१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

दुई वर्षपछि बाकसमा फर्किए विपिन: शोकाकुल गाउँ, बहिनीको भाइटीका अधुरै

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार ल्याइ पुर्‍याइएको इजरायलमा निधन भएका विद्यार्थी विपिन जोशीको पार्थिव शरीर। तस्बिर: किरणराज विष्ट/रासस

सोमबार बेलुकी तिहारको रौनकसँगै लक्ष्मी पूजा चलिरँदा कञ्चनपुरको भीमदत्त नगरपालिका-३ भाषीस्थित मालिकार्जुन टोलमा भने सन्नाटा छाएको छ।  

दुई वर्षअघि अध्ययनका सिलसिलामा इजरायल गएका विपिन जोशी हमासको नियन्त्रणसँगै उनको हत्या भयो। चरणबद्ध रूपमा हमासको नियन्त्रणमा रहेका बन्धक सकुशल रिहा भए पनि कञ्चनपुरका जोशीको भने शव बाकसमा दुई वर्षपछि आउँदा परिवारसँगै सिङ्गो टोल शोकमय बनेको छ।

विपिनकी आमा पद्मा र बहिनी पुष्पा उनको सकुशल रिहाइका लागि इजरायल, अमेरिकासम्म पुगेकी थिए, तर विपिनको परिवारसँगै सबैतिरबाट रिहाइका लागि भएको प्रयास सार्थक हुन सकेनन्। केही दिनअघि मात्रै हमासले विपिन मारिएको विषय सार्वजनिक गरे पनि सोमबार बिहानसम्म आमा पद्मालाई विपिनको अवस्थाका बारेमा जानकारी दिइएको थिएन। बहिनी पुष्पाले दाइको निधनको खबरले आधिकारिकता पाएपछि घरमा तिहारका लागि तयार पारिएका सयपत्री फूल उखेलेको जोशी परिवारको भनाइ छ।

‘बहिनी पुष्पा यसपाली भाइटीकामा दाजुसित भेट हुनेछ भन्ने आशामा थिइन्’, परिवारका सदस्य किशोर जोशीले भने, ‘लक्ष्मीपूजाका दिन विपिनको शव आँगनमा आइपुग्दा परिवार शोकमा डुबेको छ।’ दुई वर्षदेखि विपिन आउने प्रतिक्षामा रहेको जोशी परिवार सम्हालिन सकेका छैनन्।  
    
सोमबार दिउँसो काठमाडौँ पुर्‍याइएको विपिनको शव नेपाली सेनाको स्काइ ट्रकबाट बेलुकी अबेर धनगढी पुर्‍याइएको थियो। उनको शव परिवारलाई हस्तान्तरण गर्न नेपालस्थित इजरायली दूतावासका पदाधिकारी विपिनको घरसम्म पुगेका किशोरले जानकारी दिए। उनले भने अनुसार विपिनको अन्तिम दाहसंस्कार आज बिहान महेन्द्रनगरस्थित महाकाली नदीमा गरिने छ।

इजरायलले पठाएको फरेन्सिक परीक्षणको रिपोर्टमा विपिनको टाउकोमा गोली लागेर मृत्यु भएको उल्लेख गरिएको छ। इजरायलको ‘द नेसनल सेन्टर अफ फरेन्सिक मेडिसिन’ को उक्त परीक्षण रिपोर्टमा टाउकोमा गोली लागेर मृत्यु भएको उल्लेख गरिएको छ। 
  
दुई वर्षअघि सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका विपिन इजरायल पुगेको एक महिनामै हमासको आक्रमणमा परेका थिए। उक्त आक्रमणमा परेर सुदूरपश्चिम विश्वविद्यालयका १० विद्यार्थीको मृत्यु भएको थियो भने विपिनलाई बन्धक बनाइएको थियो। इजरायल र हामासबीच युद्धबिराम भएपछि विपिनको मृत्यु भएको पुष्टि भएको थियो। 

बहिनी पुष्पाको भाइटीका लगाउने सपना अधुरै
दुई वर्षदेखि बहिनी पुष्पाको एउटै आग्रह हुन्थ्यो यसपटकको भाइटीका लगाउन पाउँ। तर त्यो सपना पूरा भने हुन सकेन। दुई वर्षपछि तिहारकै दिन दाइको शव घरमा पुगेपछि उनी सम्हालिन सकेकी छैनन्।

यसपटक पनि तिहारमा भाइटीका लगाउने ठूलो आशा बोकेर उनी आमासँगै दाइको रिहाइका लागि इजरायल हुँदै अमेरिकासम्म पुगेर हरसम्भव प्रयास गरे। विडम्बना बहिनी पुष्पा र आमा पद्मा अमेरिकामै रहेकाबेला विपिन अस्ताएको दुःखद् खबर सुन्नपर्‍यो। हमासद्वारा बन्धक बनाइएका बेला ज्यान गुमाएका विपिनको शव दुई वर्षपछि सोमबार राति लक्ष्मीपूजाकै दिन कफिनमा घरमा पुग्दा गाउँमै सन्नाटा छाएको छ।  

विपिनको शव आज बिहान महाकाली नदीमा अन्तिम संस्कार गरिने परिवारका सदस्य किशोरले जानकारी दिए। ‘भाइ फर्किने ठूलो आशा थियो’, उनले भने, ‘तर सबै सपनामाथि बज्रपात भएको छ। बोल्ने र भन्ने शब्द नै रहेन।’ रासस

प्रकाशित: ४ कार्तिक २०८२ ०७:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App