सरकारले बहुविवाहलाई कानुनी मान्यता दिने गरी मस्यौदा ल्याउन लागेको भन्दै त्यसको खारेजीको मागसहित आमरण अनशनमा बसेकी बिनु यादवको स्वास्थ्यमा समस्या देखिएको छ।
चार दिनदेखि काठमाडौंको माइतीघर मण्डलामा अनशनरत उनको स्वास्थ्यमा समस्या देखिएपछि सडकमै सलाइन पानी चढाएर उपचार थालिएको छ।
आफ्नै प्रेमीबाट बलात्कृत भएको भन्दै विगत सात वर्षदेखि न्यायका लागि संघर्षरत यादवले सेतो सारीमा आमरण अनशन सुरु गरेकी हुन्।
सरकारले पीडितलाई न्याय दिनुको साटो बहुविवाह जस्तो प्रतिगामी कानुन ल्याउन लागेको भन्दै उनले त्यसको मस्यौदा तत्काल खारेज गर्न माग गरेकी छन्।
यादव न्यायको खोजीमा प्रहरी, प्रशासनदेखि अदालतसम्म धाइसकेकी छन्, तर कतैबाट पनि न्याय पाउन नसकेको उनको गुनासो छ। आफ्नै प्रेमीबाट बलात्कृत भएको उजुरी लिएर उनी पहिलोपटक २०७५ वैशाख २९ गते कालिमाटीस्थित प्रहरी कार्यालय पुगेकी थिइन्।
न्याय नपाएपछि उनी यसअघि पनि पटक-पटक माइतीघरमा अनशन बसिसकेकी छन्। उनको स्वास्थ्य अवस्था कमजोर बन्दै गए पनि उनले आफ्ना माग पूरा नभएसम्म अनशन नतोड्ने अडान लिएकी छन्।
हेराैं तस्बिरहरु, सबै तस्बिर: दिपेश दर्शनधारी/नागरिक






प्रकाशित: १९ श्रावण २०८२ १७:५९ सोमबार