पर्यटन प्रर्बद्धन गर्न कपिलवस्तुको बाणगंगा नगरपालिकामा पहिलो बाणगंगा साईकल यात्रा गरिने भएको छ ।
बाणगंगा राईडर्स क्लब कपिलवस्तुको आयोजनामा कार्तिक २९ गते साईकल यात्रा आयोजना गर्न लागिएको हो । बाणगंगा नगरपालिकाको ४ नम्बरमा आयोजित पत्रकार सम्मलेनमा सो जानकारी गराइएको हो ।
“स्वस्थ्य जीवन, स्वच्छ पर्यावरण र पर्यटन प्रबर्धन” भन्ने नाराका साथ बाणगंगा नगरपालिका र कपिलवस्तु नगरपालिकाका पर्यटकीयस्थलको प्रचार प्रसार, पर्यावरण संरक्षण र लागु औषध बिरुद्धको सचेतनाका लागी यात्रा गर्न लागिएको संस्थाका बिष्णु घिमिरेले बताए ।
यात्रामा विश्व साईकल यात्री पुस्कर शाहसहित देशभरका चार सय भन्दाबढि साईकल यात्री सहभागी हुनेछन् । बाणगंगाको चार नम्बरबाट पिपरा, सुपादेउराली मन्दिर, नन्दनगर गुरुकुल, मधुवनधाम, जिनुवा, कपिलधाम, लक्ष्मणघाट, जगदिशपुर, सगरहवा, निग्लिहवा, राजापानी र मधौली पार्क हुदै पुनः चार नम्बर पुगेर साईकल यात्रीले ७० किलोमिटरको दुरी साईकल यात्रामा पार गर्नेछन ।
कपिलवस्तुका ओझेलमा परेका पर्यटकियस्थल र समग्र जिल्लाको पर्यटन प्रबद्र्धन, स्वस्थ्य जिवनशैली बारे सचेतना, लागु औषध बिरुद्ध सचेतना, पर्यावरण संरक्षण बारे सचेतना प्रवाह गर्ने उद्धेश्यले कार्यक्रम गर्न लागिएको घिमिरेले बताए ।
प्रकाशित: १५ कार्तिक २०८२ २२:२२ शनिबार





