प्रधानमन्त्री बालेन्द्र शाह भदौ १० गते बिहान पौने ९ बजे प्रतिनिधिसभामा सांसदका प्रश्नको जवाफ दिन आवश्यक तयारी गर्दै थिए। त्यही बेला उनलाई रसुवाको भोटेकोसीमा बाढी आएको खबर प्राप्त भयो। उनले परिस्थितिको जानकारी लिँदै नदी तटीय किनारका बासिन्दालाई सतर्क रहन सूचना जारी गर्न सम्बन्धित निकायलाई निर्देशन दिए। बाढी क्षेत्रमा स्थानीय प्रशासन र प्रहरीले पनि माइकिङ गरेर सुरक्षित रहन भनिरहेको थियो। यसअघि बिहान ८ बजेर ५५ मिनेटमा अल्टिच्युट एयरको हेलिकोप्टर भारतीय पर्यटक लिन काठमाडौंबाट रसुवाको टिमुरेतर्फ उड्यो।
पाइलटले धुन्चे आसपास पुगेपछि भोटेकोसीको माथिल्लो भागबाट धुवाँधुलोको मुस्लो जस्तो आइरहेको देखे। उनले आफ्नो कार्यालयमा त्यसको जानकारी गराउँदै टिमुरे जान नसकिने बताए। यसले परिस्थिति गम्भीर भएको बुझ्न कठिन भएन।
संयन्त्रहरूको बैठक बस्दाबस्दै उक्त सूचना प्रधानमन्त्रीसम्म पुग्यो। करिब ९ः४५ बजे पहिलो पटक नेपाली सेनाको हेलिकोप्टर बाढी प्रभावित क्षेत्रतर्फ उद्धारका लागि उड्यो। बाढीले भोटेकोसी र त्रिशूली नदी आसपासका बस्ती, सडक, पुल र अन्य भौतिक पूर्वाधार सखाप पारेपछि परिस्थितिको आकलन गरी सरकारले उद्धारका लागि निजी सबै हेलिकोप्टर कम्पनीलाई पनि तयारी अवस्थामा बस्न भन्यो। १० गतेदेखि नै उद्धारमा खटिएका सरकारी अर्थात् नेपाली सेना र निजी क्षेत्रका हेलिकोप्टरहरूले २१ गतेसम्म १३ हजार बढीको उद्धार गरी ज्यान बचाएका छन्।
भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको विनासकारी बाढीले सडक सञ्जाल ध्वस्त पारेपछि सरकारसँग उद्धारका लागि हेलिकोप्टर परिचालनको विकल्प थिएन। विपद्मा नेपाली सेनाको नेतृत्वमा हेलिकोप्टहरू परिचालनका लागि उद्धार समन्वय समन्वय टोली बनाएर काम भइरहेको छ। बाढीको पहिलो दिनदेखि नै नेपाली सेनाका ६ र निजी क्षेत्रका १० गरी १६ वटा हेलिकोप्टर उद्धारमा परिचालन गरिएको छ। कहिलेकाहीं २० वटासम्म हेलिकोप्टर प्रयोग भएका छन्।
सेनाको समन्वयमा परिचालित सबै हेलिकोप्टरले अलपत्र, घाइते, अशक्त, विस्थापित र भग्नावशेषबाट उद्धार गरिएका सबैलाई सुरुमा नेपाली सेनाको त्रिशूलीस्थित सैन्य तालिम केन्द्रमा र त्यसपछि आवश्यकताअनुसार काठमाडौैं ल्याउने गरेका छन्। उद्धारमा परिचालित निजी क्षेत्रका हेलिकोप्टरले १० गते ४९ वडा उडान गरेका थिए। ११ गते सरकारको निर्देशनअनुसार नागरिक उड्डयन प्राधिकरणले निजी क्षेत्रका हेलिकोप्टर कम्पनीहरूलाई आफ्ना व्यावसायिक उडान नगर्न निर्देशन दियो।
नेपालको इतिहासमा पहिलोपटक विपद् उद्धारमा निजी क्षेत्रका हेलिकोप्टरलाई सरकारले आफ्नो नियन्त्रणमा राखेर परिचालन गरेको हो। नेपालमा रहेका १२ वटा निजी हेलिकोप्टर कम्पनीमध्ये मनाङ एयरबाहेक सबै उद्धारमा परिचालित छन्।
हेलिकोप्टरहरूले रसुवागढी, टिमुरे, धुन्चे, स्याफ्रुबेंसी, मैलुङ, बेत्रावती, सोले, त्रिशूली क्षेत्रबाट अलपत्र, विस्थापित, घाइते, अशक्त, शव ओसारिरहेको सुरक्षा निकायले जनाएका छन्। बाढीको दोस्रो दिन नेपाली सेनाको हेलिकोप्टरले ६ सय ७ जना र निजी हेलिकोप्टरले ६ सय ३ जनाको उद्धार गरेका थिए। सडक सञ्जाल बाढीबाट तहसनहस भएपछि दोस्रो दिन हेलिकोप्टरमार्फत नै प्रभावित क्षेत्रमा इन्धन, औषधि, खाद्यन्नलगायत ३८ सय किलो सामान पुर्याइयो।
१२ गतेदेखि घाइतेलाई काठमाडौं ल्यायाउनेबाहेक सबै हेलिकोप्टरलाई त्रिशूलीस्थित सैन्य तालिम केन्द्रलाई बेस बनाएर परिचालन गरिएको छ। उडानका लागि आवश्यक हवाई इन्धनको ट्यांकर नै लगेर राखिएको छ। जलविद्युत् आयोजनाका सुरुङमा फसेकाको उद्धारका लागि आवश्यक उपकरण पनि हेलिकोप्टरबाटै ओसार्नुपरेको सरकारी संयन्त्र बताउँछ।
बाढीको तेस्रो दिन सेनाका हेलिकोप्टरबाट ९ सय ३ र निजीबाट ३ सय ६१ जनाको उद्धार गरियो। चौथो दिन १५ सय ८२ जनाको उद्धार भयो। निजी र सेनासहितका गरी दैनिक १६ देखि २० वटासम्म हेलिकोप्टर परिचालन गरिँदै आएको छ।
अल्टिच्युट एयरका पाइलट आनन्द थापाका अनुसार विपद्मा निजी क्षेत्रकासमेत गरी सबैभन्दा धेरै हेलिकोप्टर प्रयोग भएको सम्भवतः यो पहिलो पटक हो। ‘मैले विपद् उद्धारमा हेलिकोप्टर उडाएको २२ वर्ष भयो तर सरकारले यति धेरै निजी हेलिकोप्टर उद्धारमा खटाएको जानकारी यसअघि छैन,’ उनले भने।
हेलिकोप्टर धेरै भएका कारण उडान व्यवस्थापनका लागि काठमाडौंबाट एयर ट्राफिक कन्ट्रोलर नै त्रिशूली लगेर राखिएको छ। सेनाले सबै हेलिकोप्टर कम्पनीका पाइलट र उनीहरूको क्षमतासमेत हेरेर परिचालन गरेको छ। खोंच र माथिल्लो भेगमा जान सक्नेलाई त्यसैअनुसार परिचालन गरिएको छ। घाइते, राहत सामान, उपकरण, शवओसार्नेलगायत फरकफरक जिम्मेवारी तोकेर हेलिकोप्टर परिचालन गरिएको छ।
भाडा कति?
दैनिक सरकारी अर्थात् सेना र निजी गरी २० वटासम्म हेलिकोप्टर उद्धारलगायतमा परिचालन गरेको सरकारले तिनको भाडा भने तय गरेको छैन। १६ गतेपछि प्रायः हेलिकोप्टर शव संकलन र राहत सामग्री बोक्न प्रयोग भएका छन्। नेपाली सेनाले मात्रै २० गतेसम्म ११ सय ७० पटक उडान गरेको छ। निजी क्षेत्रका हेलिकोप्टरले पनि उतिकै संख्यामा उडान गरेका छन्।
सबैलाई सरकारले खर्च दिनुपर्ने हुन्छ। अहिलेसम्म प्रतिउडान वा दैनिक वा घण्टाका हिसाबले कति खर्च दिने भन्ने निर्णय भएको छैन। घण्टाको हिसाब गरी सरकारले सबैलाई एउटै दरमा खर्च दिन सक्ने एक निजी हेलिकोप्टर कम्पनीका व्यवस्थापकले बताए। ती व्यवस्थापकले भने, ‘सामान्य समयमा सबै कम्पनीको आफ्नो रेट हुन्छ। अहिले विपद्मा प्रयोग भएकाले सरकारले सबैलाई एउटै रेटमा खर्च दिन सक्छ।’
थरीथरीका हेलिकोप्टर
हिमाली र उच्च पहाडी भेगमा विपत्तिका बेला खोज, उद्धार र राहतका लागि हेलिकोप्टर सबैभन्दा उपयुक्त माध्यम मानिन्छ। नेपालमा निजी क्षेत्रका हेलिकोप्टर कति चालु अवस्थामा छन् भने यकिन नभए पनि नेपाली सेनाका १५ वटा चालु अवस्थामा छन्।
सेनासँग राहत तथा खोजका लागि एमआई १७, बेल, अगस्टालगायतका हेलिकोप्टर छन्। निजीतर्फ धेरैले बी, थ्री, ई प्रयोगमा ल्याएका छन्, जुन उच्च हिमाली क्षेत्रमा उद्धारका लागि निकै उपयुक्त भएको पाइलट थापा बताउँछन्। यो घटनाले नेपालमा खोज तथा उद्धारका लागि हेलिकोप्टरको आवश्यकता दर्शाएको छ, बढाएको छ। त्यस्तै जोखिमपूर्ण उद्धार गर्न सक्ने जनशक्ति सरकारी संयन्त्रले पनि तयार पार्नुपर्ने देखिएको जानकार बताउँछन्।
प्रकाशित: २२ भाद्र २०८३ ११:२५ सोमबार





