२५ भाद्र २०८३ बिहीबार
image/svg+xml
समाज

भोटेकोशी बाढीः मालसामान बगायो, व्यवसायी समस्यामा

फाइल तस्बिर

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीले चाडपर्वका लागि ल्याइएको सामान बगाउँदा व्यवसायीहरु समस्यामा परेका छन्।

रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नेपाल-चीन जोड्ने रसुवागढी नाका बगाउनुका साथै ठूलो जनधनको क्षति गरेको थियो। हालसम्म उक्त घटनामा परेर एक हजार ३६७ जनाको ज्यान गएको छ भने पाँच हजार १३२ जना अहिलेसम्म पनि सम्पर्कविहीन भएका छन्।

यस्तै, बाढीमा परी नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५, सशस्त्र प्रहरीका १२ तथा सरकारी कर्मचारी ७३ जना अझै सम्पर्कविहीन भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। बैंक तथा वित्तीय संस्थाका कर्मचारी २६  र विदेशी पर्यटक ५८९ जना सम्पर्कविहीन छन्।

उक्त बाढीबाट नजिकिँदै गरेका तीज, दसैँ, तिहार र छठ पर्वका लागि आयात गरिएका अर्बौं मूल्य बराबरका मालसामान र सयौँ कन्टेनरसमेत बगाएका छन्। नेपाली बजारमा चाडपर्वका बेला खपत हुने अधिकांश लत्ताकपडा, कच्चापदार्थ र विद्युतीय सामग्री उत्तरी नाका चीनको केरुङबाट रसुवागढी हुँदै आउने गर्छन्।

व्यवसायीका अनुसार भदौदेखि सुरु हुने नेपालका चाडपर्वका लागि व्यवसायीले असार साउनमा चीन पुगेर सामान आयात गर्ने गरेका छन्। गत वर्षको साउनदेखि चीनसँगको अर्को प्रमुख व्यापारिक नाका सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि पछिल्लो समय व्यवसायीहरुले रसुवागढी नाका हुँदै सामान आयात गर्दै आएका थिए।

न्युरोड ओटुमा लामो समयदेखि व्यापार गर्दै आएका राष्ट्रिय व्यापार संघका पूर्वध्यक्ष सरोज श्रेष्ठ आफूले चाडपर्वलाई लक्षित गरेर ल्याएको लाखौँ मूल्य बराबरको सामान बगाउँदा समस्या परेको बताउँछन्।

'दसैँ, तिहारका लागि भनेर झण्डै ३५ लाख मूल्य बराबरको सामग्री आउँदै थियो भदौ १० को उक्त बाढीले सबै सामान बगायो, सामान नहुँदा दसैँ, तिहारमा व्यवसाय गर्न नसकिने भइयो', उनी भन्छन्।

फसिकेवमा व्यापार गर्दै आएका वीरेन्द्र श्रेष्ठको पनि सामान उक्त बाढीले बगाएको छ। तीजलाई लक्षित गरी महिलाका लागि ब्याग ल्याएका श्रेष्ठको सामान बगाउँदा रु ४० लाख बराबरको क्षति भएको उनी बताउँछन्।

यस्तै, महिलाले लगाउने भित्रि कपडालगायतका सामग्रीको होलसेल गर्दै आएका भोटेबहालका रवि खड्काको सबै सामान बाढीले बगाउँदा रु ५० लाख क्षति भएको बताउँछन्।

न्युरोड गुच्चाटोलमा टोपीको होलसेल गर्दै आएका अर्जुन हुमागाईको पनि रु ५० लाख बराबरको क्षति पुर्‍याएको छ। यसैगरी, न्युरोडकै फसिकेवमा ‘बेल्ट’ र पर्सको व्यापार गर्ने विष्णु न्यौपानेको पनि दसैँका लागि ल्याएको सबै सामान बाढीले बगाइदियो। उनको सबै गरेर रु ८० लाख बराबरको क्षति पुगेको छ। माथि उल्लेख घटना प्रतिनिधिमुलक मात्र हुन्। काठमाडौंको प्रमुख व्यापारिक केन्द्र न्युरोडमा होलसेल गर्दै आएका हजारौँ व्यवसायीको सामान भोटेकोशी बाढीले बगाइदिएको छ। न्युरोडको नेपाः कम्प्लेक्स, रञ्जना कम्प्लेक्स, महाबौद्ध, ओटुलगायत क्षेत्रमा दसैँका लागि ल्याएका अर्बौं मूल्य बराबरको सामान भोटेकोशी बाढीले बगाउँदा यहाँका व्यवसायीहरु समस्यामा परेका छन्।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष मनोजबाबु श्रेष्ठ चाडपर्वका लागि ल्याइएका सामान भोटेकोशी बाढीले बगाउँदा व्यवसायी समस्यामा परेको बताउँछन्। 'चाडपर्वका लागि भनेर केरुङ नाका हुँदै सामान ल्याएका २५० कन्टेनर सामग्री बाढीले बगाउँदा अर्बौंको क्षति पुगेको छ', अध्यक्ष श्रेष्ठ भन्छन्।

केरुङबाट ल्याएका २५० कन्टेनर सामानमध्ये ७६ कन्टेनर सामान भन्सार पास भएर काठमाडौँ ल्याउने तयारी गरिएको अवस्थामा बाढी आएको अध्यक्ष श्रेष्ठ बताउनुहुन्छ। यस्तै, झण्डै २५० मालवाहक सवारीसाधन सामान लिनका लागि भन्सार नाकामा जाँदै गरेका बेलामा बाढीले बगाएको थियो।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका पूर्वअध्यक्ष कुमार कार्की नेपाल-चीन जोड्ने सबैभन्दा छोटो नाका केरुङ नाका भएका कारण पनि यस नाकाबाट सबैभन्दा धेरै सामान आयात हुँदै आएको बताउँछन्। 'छोटो नाकाका कारण सामान आयात गर्न सजिलो हुने भएकाले धेरै मालसामान यही नाका हुँदै आउँछ, चाडपर्वका लागि नाकामा आएको अर्बौंको सामान भोटेकोशी बाढीले बगाउँदा व्यवसायी समस्यामा परेका छन्”, उनी भन्छन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार भोटेकोशी बाढीले झण्डै ६०० मालवाहक सवारीसाधनमा क्षति पुर्‍याएको छ। महासंघका महासचिव डेकनाथ गौतम भोटेकोशी बाढीले एक हजारभन्दा बढी मालवाहक र यात्रुबाहक सवारीसाधनमा क्षति पुर्‍याएको बताउँछन्। 'चाडपर्वको पूर्वसन्ध्यामा सामान लिन भन्सार नाका गएका सयौँ मालवाहक सवारीमा क्षति पुगेको छ', उनी भन्छन्।

चीनतर्फबाट सामान धमाधम नेपाल भित्रिँदै गरे पनि वर्षायामका कारण नेपालतर्फको सडक राम्रो नहुँदा रसुवागढी नाकामा ठूलो परिमाणमा मालसामान र कन्टेनर रोकिएर बसेका थिए। भन्सारमा रहेका रेडिमेड सामानसँगै ठूलो सङ्ख्यामा आयात गरिएका महँगा विद्युतीय सवारीसाधन (इभी) समेत बाढीले बगाएको छ।

महासंघका महासचिव गौतमका अनुसार भन्सारमा रहेका विद्युतीय सवारीसाधन, सामान लिन गएका मालवाहक, यात्रुवाहक र गोसाइँकुण्ड दर्शन गर्न गएकासमेत एक हजार ३०० हाराहारी सवारीसाधनमा भोटेकोशी बाढीले क्षति पुर्‍याएको छ।

प्रकाशित: २५ भाद्र २०८३ १३:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App