‘मर्ने त मरेर गए, तर बाँचेकालाई हरेक पल मर्नुजस्तै भइरहेको छ।’
रसुवाका ४२ वर्षीय छेकु लामा नुवाकोटको पिपलटारस्थित रक्तकाली होल्डिङ सेन्टरको पालको ढोकामा उभिएर टोलाइरहन्छन्। उनको आँखामा कुनै गुनासोभन्दा ठूलो एउटा शून्यता छ। केही दिनअघिसम्म भरिभराउ रहेको उनको संसार अहिले एउटा त्रिपालभित्र खुम्चिएको छ।
एउटै पहिरोले उनका आमा-बुबासहित परिवारका १७-१८ जना सदस्यलाई सदाका लागि खोसेर लग्यो। बाँचेकामध्ये पनि धेरैको घर, जमिन, रोजगारी र भविष्य पहिरोसँगै बगेको छ।
‘आमा-बुबा पहिरोमै हराउनुभयो। दाइलाई पहिरोले बगायो। भिनाजु, भान्जा-भान्जी, दिदी कोही बाँकी रहेनन्,’ छेकुको आवाज बोल्दाबोल्दै रोकिन्छ।
उनका दुई सन्तान भने त्यस दिन स्कुल गएका कारण बाँचे। श्रीमतीले गाउँमा रुवाबासी सुनेपछि भागेर ज्यान जोगाइन्। ‘यदि केटाकेटी स्कुल नगएका भए र श्रीमती नभागेकी भए मेरो कुल नै नास हुने रहेछ,’ उनी कहाली लाग्दो दिन सम्झन्छन् र केहीबेर मौन हुन्छन्।
त्यसपछि थप्छन्, ‘गाउँका ९० प्रतिशत मान्छे त पहिरोले सखाप पारिसक्यो।’
छेकुको कथा एउटा परिवारको मात्र कथा होइन। रसुवाका बाढी प्रभावित धेरै परिवार अहिले यही नियति बोकेर होल्डिङ सेन्टरमा बसिरहेका छन्। बाहिरबाट हेर्दा कोही मुस्कुराइरहेका छन्, कोही कुराकानी गरिरहेका छन्, कोही राहतको लाइनमा उभिएका छन्। तर उनीहरूको मनभित्र कति ठूलो भूकम्प गइरहेको छ भन्ने बाहिरबाट अनुमान लाउन कठिन छ।
मुस्कानभित्र लुकेको ट्रमा
‘हेर्दाखेरि त सबै जना खुसी नै छन्। गएर हेर्नुभयो भने उहाँहरू स्माइल नै गरिराख्नुभएको हुन्छ,’ विपद् प्रभावित क्षेत्रमा मनोविमर्श र उद्धार कार्यमा खटिएकाहरूको अनुभव हो यो।
विपद्पछि मानिसहरू एकअर्काको साथमा हुँदा आफ्नो पीडा केही हदसम्म भुल्ने गरेको मनोविमर्शकर्ता बताउँछन्। तर होल्डिङ सेन्टरबाट बाहिरिएर छुट्टाछुट्टै जीवनमा फर्किंदा वास्तविक मानसिक आघात अझ गहिरो रूपमा देखिन सक्ने उनीहरूको भनाइ छ।
विश्वास नेपालकी मनोविमर्शकर्ता रजनी खड्गीले बाढीबाट अति प्रभावित रसुवाको उत्तरगयासहितका क्षेत्रमा पुग्दा देखेको दृश्यलाई दर्दनाक शब्दले मात्रै बयान गर्न नसकिने बताउँछिन्। घटनाको केही दिनपछि प्रभावित क्षेत्र पुग्दा बाटो नै जोखिमपूर्ण रहेको र पहिरो तथा हिलोले गर्दा छोटो दूरी पार गर्न लामो अनि घुमाउरो बाटो प्रयोग गर्नुपरेको उनको भनाइ छ।
‘हामी बिहान ६ बजे निस्किएका थियौँ। साढे आठ घण्टा ननस्टप यात्रा गरेर बेलुका मात्रै पुग्न सक्यौँ,’ उनी सम्झिन्छिन्, ‘प्रभावित क्षेत्रमा पुग्दा भग्नावशेष, सन्नाटा र चित्कार मात्र देखिन्थ्यो।’
‘हामी पुगेकै दिन एउटा ढलेको भवनको भग्नावशेषबाट २३ वटा शव निकालिँदै थियो। हावामा मानिसको दुर्गन्ध फैलिएको थियो। मानिसहरू आफ्ना कपडा, गाडी र खानेकुरा खोज्न जोखिम मोलेर भग्नावशेषमा टोलाइरहेका थिए,’ उनी थप भन्छिन्।
विपद् प्रभावितहरूका लागि राहत आवश्यक छ। तर राहतसँगै उनीहरूको मनमा रहेको घाउ बुझ्नु पनि उत्तिकै आवश्यक हुन्छ।
रजनीका अनुसार एक नौ वर्षीय मुटुको रोगबाट ग्रसित बालकले बुबा गुमाएका थिए। आमा गहिरो मानसिक आघातमा थिइन्। राहत र अन्तर्वार्ताका नाममा मानिसहरूले पटक-पटक परिवारको दुःख सम्झाइदिँदा उनको अवस्था झन् बिग्रिएको थियो।
ती बालकको खुट्टामा समेत गम्भीर चोट थियो। तर आमाको मानसिक अवस्था यति नाजुक थियो कि बच्चाको घाउ सफा गर्ने अवस्थासमेत थिएन। मनोविमर्श र समन्वयपछि बालकलाई उद्धार गरेर उपचारका लागि काठमाडौं ल्याइएको थियो।
पीडितलाई आफ्नो कथा पटक-पटक सुनाउन लगाउनु नै उपचार होइन। कहिलेकाहीँ त्यही कुरा बारम्बार सम्झाउँदा घाउ झन् गहिरो हुन्छ,’ रजनीको अनुभव छ।
छोरी गुमाएपछि आमाबुबाले पनि ज्यान गुमाए
विपद्ले मानिसको घर मात्रै भत्काएको छैन, कतिपयको जीवनप्रतिको भरोसा नै भत्काइदिएको छ। रजनीका अनुसार विपद्मा छोरी गुमाएका एक दम्पतीले छोरी र घर दुवै गुमाएको पीडा सहन नसकी आत्महत्या गरेका थिए।
अर्का एक युवकको कथा पनि उत्तिकै मार्मिक छ। २०७२ को भूकम्पमा हाकुमा बनाएको घर भत्किएपछि विस्थापित भएका उनी वर्षौँसम्म सवारी चलाएर, ऋण खोजेर अर्को घर बनाउन लागेका थिए। घरको फिनिसिङसमेत पूरा हुन नपाउँदै यस पटकको बाढीले त्यो घर पनि बगाइदियो।
‘जे गर्दा पनि नहुने रहेछ, अब जिउनुको के अर्थ?’ भन्दै उनी गहिरो निराशामा डुबेका छन्।
विपद् प्रभावित बस्तीमा पुरुषहरू बाहिरबाट सामान्य देखिने प्रयास गर्छन्। तर मनोविमर्शकर्ताका अनुसार उनीहरू पनि उत्तिकै गहिरो आघातमा छन्। ‘परिवारलाई जोगाउनु छ, बच्चा हेर्नु छ भन्दै उनीहरू आफ्नो चोट र घाउ बिर्सेर हिँडिरहेका छन्,’ रजनी भन्छिन्।
महिलाको अवस्था झन् जटिल छ। परिवारको मुख्य कमाउने सदस्य गुमेपछि उनीहरू एकैपटक अभिभावक, परिवारको आर्थिक जिम्मेवार व्यक्ति र शोकमा डुबेको सदस्य बन्न बाध्य भएका छन्।
हिजोसम्म छोराछोरीलाई बोर्डिङ स्कुलमा पढाउने सपना देखेका आमाहरू आज ‘अब कसरी पाल्ने?’ भन्ने प्रश्नमा अड्किएका छन्।
५४ वर्षीये एक महिलाले कमाएर परिवार धान्ने आफ्ना दुई जवान छोरा गुमाएकी छिन्। ‘अब यो उमेरमा के गरेर खाने ? कसरी पाल्ने नाति-नातिना, बुहारी र परिवार?’ यसरी नै यो प्रश्न उनको मनमा बारबार आइरहन्छ।
उनका यी प्रश्नको जवाफ राहतको एउटा वा केही बोरा चामल र केही हजार रुपैयाँले दिन सक्दैन।

बालबालिकाको आँखामा पनि उस्तै डर
विपद्पछि बालबालिकाको संसार पनि बदलिएको छ। स्कुल बगेका छन्। घर छैन। खेल्ने ठाउँ छैन। कतिपयले अभिभावक गुमाएका छन्। राति निदाउँदा पनि पहिरो र बाढीको दृश्यले उनीहरूलाई झस्काउँछ।
‘अब मेरो स्कुल नै रहेन, म कहाँ जाने?’ भन्दै उनीहरू प्रश्न गर्छन्। यस्तै, कतिपय बालबालिका रातभर सुत्न सक्दैनन्। नयाँ मान्छे देख्दा डराउँछन्। केही बालबालिका घटनाको दृश्य सम्झिएर झस्किएर निद्निदै उठ्छन्।
चार महिने शिशुकी एक आमाले आफ्ना बुबा गुमाएपछि पाएको मानसिक आघातका कारण आफ्नै काखको बच्चालाई समेत छुन र हेर्न छाडेकी थिइन्।
पालभित्र अर्को पीडा
होल्डिङ सेन्टरमा आश्रय पाएका प्रभावितहरूका लागि विपद् सकिएको छैन। उनीहरूको अर्को संघर्ष पालमुनि सुरु भएको छ। दिउँसो त्रिपालभित्र भट्टीजस्तै गर्मी हुन्छ। राति पानी पर्दा पाल चुहिन्छ। भुइँमै सुत्नुपर्छ। किराको टोकाइ र ओसका कारण बालबालिका बिरामी पर्न थालेका छन्।
पीडित छेकुले ज्वरो, रुघाखोकी र टाइफाइडजस्ता समस्या सेन्टरमा बढिरहेका बताउँछन्। केहीमा डेंगीको लक्षणसमेत देखिएको अनुमान उनी लाउँछन्। ‘खाना पकाएर खाने ठाउँ छैन। बिरामी पर्दा तातो पानीसम्म तताएर खाने अवस्था छैन। अस्थायी रूपमा भए पनि जस्ताको सानो टहरा बनाइदिएको भए हुन्थ्यो,’ उनी भन्छन्।
होल्डिङ सेन्टरमा अर्को समस्या गोपनीयताको अभाव पनि एक हो। श्रीमान्-श्रीमती, बालबालिका र अन्य परिवारका सदस्य एउटै खुला ठाउँमा बस्न बाध्य छन्। विपद्को आघातमा रहेका परिवारले एकअर्कालाई निजी रूपमा सान्त्वना दिने ठाउँसमेत पाएका छैनन्।

महिला र बालबालिका थप जोखिममा
त्रिपाल र अस्थायी होल्डिङ सेन्टरमा महिला, किशोरी र बालबालिकालाई एउटै ठाउँमा राख्दा घरेलु हिंसा, यौन दुर्व्यवहार तथा मानव बेचबिखनको जोखिमसमेत बढ्ने चिन्ता छ। यही जोखिमलाई ध्यानमा राखेर मनोविमर्शकर्ताहरूको टोलीले स्थानीय तहसँग समन्वय गरी ५८ जना महिला तथा किशोरीलाई सुरक्षित होस्टेल तथा छुट्टै स्थानमा स्थानान्तरण गरेको छ।
उनीहरूलाई ‘गुड टच-ब्याड टच’, हिंसाविरुद्धको सचेतना र मनोसामाजिक परामर्श दिने काम भइरहेको मनोपरामर्शकर्ता रजनी बताउँछिन्।
घरसँगै बगे परिचय
बाढी र पहिरोले घर, जमिन र मानिसको ज्यान मात्रै लगेन। नागरिकता, लालपुर्जा, स्वास्थ्यसम्बन्धी चिकित्सकको प्रेस्क्रिप्सन तथा अन्य महत्त्वपूर्ण कागजातसमेत बगे। कतिपय ठाउँमा वडा कार्यालय र सरकारी दस्तावेजसमेत क्षतिग्रस्त भएका कारण आफ्नै परिचय प्रमाणित गर्न नागरिकले फेरि सरकारी कार्यालय धाउनुपर्ने अवस्था आएको छ।
‘हामी रहरले खोलाछेउमा बसेका थिएनौँ’
विपद्पछि धेरैले प्रश्न गर्छन्- 'जोखिम थाहा हुँदाहुँदै मानिसहरू किन खोला किनारमा बसे?'
तर प्रभावितहरूको प्रश्न फरक छ। उनीहरू आफूहरू रहरले खोला किनारमा नबसेको बताउँछन्। ‘हामीलाई काल खोज्दै खोला किनारमा बसेको भन्छन्। तर हामी रहरले त्यहाँ गएका थिएनौँ,’ उनीहरू भन्छन्।
पहाडमा पर्याप्त स्वास्थ्य संस्था थिएनन्। बालबालिकाका लागि राम्रो विद्यालय थिएन। रोजगारीको अवसर सीमित थियो। शिक्षा, स्वास्थ्य र रोजगारीको खोजीमा मानिसहरू केही सुगम ठाउँतर्फ झरे। त्यही ठाउँ अन्ततः उनीहरूको विनाशको कारण बन्यो।
राहतले पेट भरिन्छ, भविष्य बन्दैन
अहिले विभिन्न संघसंस्था, स्थानीय तह तथा मानवीय संस्थाले खाद्यान्न, कपडा, स्वास्थ्य सेवा र अन्य राहत उपलब्ध गराइरहेका छन्। तर चामल र चाउचाउले केही दिनको पेट भरिएला, त्रिपालले केही समय टाउको छोपिएला। तर घर, रोजगारी, शिक्षा, परिवार र मानसिक शान्ति फर्काउन त्यो पर्याप्त छैन।
विपद्ले ज्यान गुमाएका परिवारको पीडा त देखिन्छ। तर जीविकोपार्जनको आधार गुमाएका, कागजात गुमाएका, शिक्षा गुमाएका र मानसिक रूपमा भत्किएका मानिसहरूको पीडा अझै धेरै हदसम्म अदृश्य छ।
पिपलटारको पालमुनि छेकोजस्तै ७५ भन्दा बढी परिवार अहिले पनि भविष्यको प्रतीक्षामा छन्। उनीहरूलाई अहिले केवल एउटा सुरक्षित छानो चाहिएको छैन। उनीहरूलाई हराएको जीवन पुनः सुरु गर्ने आधार चाहिएको छ। उनीहरूलाई घर चाहिएको छ, रोजगारी चाहिएको छ। बालबालिकालाई स्कुल चाहिएको छ। महिलालाई सुरक्षित वातावरण चाहिएको छ। पहिचान चाहिएको छ। मनोविमर्श चाहिएको छ।
सबैभन्दा ठूलो कुरा उनीहरूलाई ‘विपद् सकियो’ भन्ने होइन, ‘अब तपाईंहरूको जीवन पुनः सुरु गर्न राज्य तपाईंहरूसँगै छ’ भन्ने भरोसा चाहिएको छ।
प्रकाशित: १३ आश्विन २०८३ ०७:३६ मंगलबार


-600x400.jpg)


