नेपालमा दुई दशकअघिसम्म पाको उमेरका मानिसलाई मात्र हृदयाघात हुने गरेको पाइन्थ्यो। एक दशकयता भने यो समस्या युवामा पनि ह्वात्तै बढेको अस्पतालमा उपचारका लागि आउने बिरामीको तथ्यांकले देखाएको छ।
सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा प्रतिवर्ष औसत २ हजारदेखि २ हजार ५ सय जना हृदयाघातका बिरामीको उपचार हुने गर्छ। केन्द्रमा सन् २०१८ मा भएको एक अध्ययनअनुसार हृदयाघात भएका २ हजार जनाको उपचार भएको तथ्यांक छ। जुन संख्या सन् २०१४ मा ५ सय थियो।
कुल हृदयाघातका बिरामीमध्ये ५० प्रतिशत ४५ वर्षमुनिका रहेको अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. चन्द्रमणि अधिकारी बताउँछन्। ‘पहिला ५०/६० वर्षपछि हुने हृदयाघातको समस्या अहिले ३०/३५ वर्षमै देखिन्छ,’ उनले भने।
मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा प्रतिवर्ष मुटुरोगका कारण भर्ना हुनेको संख्या १ हजार ४ सयदेखि १ हजार ५ सयसम्म छ। भर्नामध्ये धेरैजसो पहिले नै हृदयाघात भइसकेका वा भविष्यमा हृदयाघातको जोखिममा रहेका बिरामी भएको अस्पतालका मुटुसर्जन डा. अनिलकुमार भट्टराई बताउँछन्। हृदयाघात भएका बिरामीमध्ये करिब १ सय ५० जनाको ओपन हार्ट सर्जरी हुने गरेको छ। हृदयाघात भएकामध्ये ५ सय जना ४५ वर्ष उमेरमुनिका छन्।
पछिल्लो समय नेपालमा हृदयाघातको अवस्था कस्तो छ भन्ने विषयमा बृहत् अध्ययन नभएको चिकित्सक बताउँछन्। तर अन्तर्राष्ट्रिय निकायहरूले गरेको अनुसन्धानअनुसार नेपालमा प्रतिवर्ष १६ हजार जनामा हृदयाघात हुने गरेको डा. अधिकारीले जानकारी दिए। विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा नसर्ने रोगबाट हुने कुल मृत्युमा मुटुजन्य रोगको हिस्सा पनि धेरै छ। नेपालसहित अन्य देशमा बढ्दो मुटुजन्य रोगको असरलाई नियन्त्रण गर्न आवश्यक रहेको भन्दै यस वर्ष पनि ‘मुटुको धड्कन बचाऔं’ भन्ने नारा अघि सारिएको छ। नेपालमा पनि मंगलबार विश्व मुटु दिवस मनाइँदैछ।
के हो हृदयाघात ?
चिकित्सकका अनुसार विभिन्न कारणले मुटुमा रक्तसञ्चार गर्ने धमनीमा अवरोध हुँदा हृदयाघात हुन्छ। रक्तनली साँघुरो वा बन्द हुँदा मुटुमा रक्तप्रवाह हुन नसकी अक्सिजनको मात्रा कम हुन्छ। यसले श्वास फेर्न र हिँडडुल गर्न कठिन हुनेजस्ता समस्या निम्त्याउन सक्छ। रक्तनली पूरै वा धेरै बन्द भएमा छाती दुख्ने, हिँड्दा श्वास फेर्न गाह्रो हुने, वान्ता हुने र धेरै पसिना आउनेजस्ता लक्षण देखिन्छन्। कतिपय मानिसले यस्ता लक्षणलाई ग्यास्ट्रिक भनेर बुझ्दा उपचारमा ढिलाइ हुने गरेको चिकित्सक बताउँछन्।
चिकित्सकका अनुसार हृदयाघातलाई विभिन्न अवस्थाका आधारमा पहिचान गर्न सकिन्छ। एउटा अवस्थामा इसिजी गर्दा मुटुको रक्तनली बन्द भएको देखिन्छ। अर्को अवस्थामा रक्तनली आंशिक रूपमा बन्द हुन्छ भने तेस्रो अवस्थामा आकस्मिक रूपमा मुटुको रक्तनलीमा रगतको डल्लो बसेर रक्तसञ्चार बन्द हुन्छ। यसलाई आकस्मिक हृदयाघात पनि भनिन्छ। यस्तो अवस्थामा नाइटोभन्दा माथि र आँखाभन्दा तलको जुनसुकै भागमा दुखाइ हुन सक्ने चिकित्सक बताउँछन्। निमोनिया र दमबाहेकका दुखाइ पनि हृदयाघातका लक्षण हुन सक्ने भएकाले सावधानी अपनाउनुपर्ने उनीहरूको भनाइ छ।
युवामा हृदयाघात बढ्नुको कारण
चिकित्सकका अनुसार विगत एक–डेढ दशकयता युवा उमेरमै हुने हृदयाघात बढ्दै गएको छ। विकसित देशको तुलनामा नेपालमा यो समस्या बढी रहेको उनीहरूको भनाइ छ। बढ्दै गएको आरामदायी जीवनशैली, तनाव, कम उमेरमै चुरोट तथा सुर्ती सेवन, बढी चिल्लो वा बोसोयुक्त खानेकुराको सेवन, मधुमेह र उच्च रक्तचापका कारण हृदयाघात हुने गरेको चिकित्सक बताउँछन्।
पहिलेका मानिस दैनिक धेरै समय हिँड्ने र शारीरिक श्रम गर्ने भएकाले हृदयाघात पाको उमेरमा मात्र देखिने गरेको तर अहिलेका युवाले अपनाइरहेको आरामदायी जीवनशैली, जंक फुड प्रयोग र निष्क्रिय जीवनशैलीका कारण कम उमेरमै हृदयाघात हुने गरेको सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अधिकारी बताउँछन्। पछिल्लो समय मुटुरोगको छिटो पहिचान हुने गरेकाले पनि संख्या बढेको हुन सक्ने उनको बुझाइ छ।
मनमोहन कार्डियोथोरासिक–भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका डा. भट्टराई युवाको आरामदायी र अत्यधिक तनावयुक्त जीवनशैली हृदयाघातको प्रमुख कारण भएको बताउँछन्। उनी भन्छन्, ‘आजका युवा सुर्ती–चुरोटभन्दा बढी हुक्का सेवन गर्छन्, दैनिक ६० प्रतिशत समय प्रविधिमा बिताउँछन्, जसका कारण रक्तनलीजन्य समस्या र मोटोपन बढेको छ।’
युवाको जीवनशैली प्राकृतिकभन्दा भौतिकमुखी बन्दै गएकाले पनि तनाव बढेको र तनावले मुटुरोग बढाएको डा. भट्टराई बताउँछन्। उनका अनुसार पहिलाका मानिसको चिन्ता खेती गर्ने र परिवार चलाउनेसम्म सीमित थियो। अहिलेको जीवनशैली बजारमुखी बन्दै गएको छ। बजारमा उपलब्ध उत्पादन प्राप्त गर्ने र उच्च जीवनस्तर हासिल गर्ने चाहना बढेको छ, जुन प्राप्त गर्न सहज छैन। डा. भट्टराई थप्छन्, ‘समाज प्रकृतिमुखीभन्दा पनि देखासिकीमा आधारित बन्यो, जसको प्रत्यक्ष असर युवा पुस्तामा परेको छ।’
तनाव हुने व्यक्तिमा मुटुका रक्तनली खुम्चिँदै जाने, आरामदायी जीवनशैलीका कारण मोटोपन र तौल बढ्ने तथा सुर्ती र हुक्का सेवनले पनि रक्तनलीमा असर पुग्ने चिकित्सक बताउँछन्।
हृदयाघातको उच्च जोखिममा को हुन्छ ?
चिकित्सकका अनुसार परिवारमा आमा, बुवा, दाजुभाइ वा दिदीबहिनीलाई हृदयाघात भएको छ भने अन्य सदस्यलाई पनि हृदयाघातको जोखिम हुन्छ। त्यसैगरी सानो उमेरदेखि चुरोट सेवन गर्ने, शारीरिक व्यायाम नगर्ने, बढी मात्रामा चिल्लो तथा बोसोयुक्त खाना खाने, निष्क्रिय र चिन्ताग्रस्त जीवनशैली बिताउने तथा उच्च रक्तचाप, मधुमेह र उच्च कोलेस्ट्रोल भएका व्यक्तिमा कुनै पनि बेला हृदयाघातको जोखिम हुन्छ। मधुमेहका कारण मुटुमा रगत पुर्याउने रक्तनलीमा बोसो जम्न गएमा तथा रक्तनलीमा क्षति पुगेमा हृदयाघात हुन सक्छ।
चिकित्सकका अनुसार कुनै पनि प्रकारका मुटुजन्य रोग वा हृदयाघातको जोखिम नियमित स्वास्थ्य परीक्षणबाट पहिचान गर्न सकिन्छ। लक्षण देखिनुअघि वा लक्षण देखिएपछि समयमै नजिकको स्वास्थ्य केन्द्र वा विशेषज्ञ अस्पतालमा पुगेर उपचार गराउन सकिन्छ। हृदयाघातको पहिचान इसिजी वा अन्य परीक्षणबाट गर्न सकिन्छ। हृदयाघात भएको थाहा हुनेबित्तिकै सकेसम्म छिटो उपचारमा पुगेमा त्यसबाट हुने मृत्यु रोक्न सकिन्छ। माथि उल्लिखितमध्ये कुनै पनि लक्षण देखिएमा सकेसम्म छिटो अर्थात् १२ घण्टाभित्र अस्पताल पुगेमा मुटुको रक्तनली खोल्न सकिने चिकित्सक बताउँछन्।
एक्कासि हृदयाघातका लक्षण देखिएमा सकेसम्म छिटो मुटुरोग उपचार केन्द्रमा गएर एन्जियोप्लास्टी गरी अवरोध भएको रक्तनली खोल्न सकिन्छ। क्याथ ल्याब नभएका ठाउँमा भने रगत पातलो बनाउने औषधि दिएर उपचार गरिन्छ। यो प्रारम्भिक उपचार भए पनि पूर्ण उपचारका लागि क्याथ ल्याब भएको मुटु उपचार केन्द्र आवश्यक हुन्छ। औषधिमार्फत हृदयाघातको उपचार गर्ने सेवा नेपालका धेरै स्वास्थ्य संस्थामा विस्तार भएको डा. अधिकारी बताउँछन्। बागमती प्रदेशका १० वटा अस्पतालमा यो सेवा विस्तार भइसकेको उनले जानकारी दिए। कम्तीमा सबै जिल्ला अस्पतालमा यस्तो सेवा विस्तार गर्नुपर्ने विषयमा आफूहरूले पहिलेदेखि नै वकालत गर्दै आएको अधिकारी बताउँछन्।
सबै जिल्लामा अहिले पनि मुटुसम्बन्धी सेवा नपुगेका कारण धेरैको हृदयाघातका कारण मृत्यु हुने गरेको डा. भट्टराई बताउँछन्। नेपालमा सरकारी क्षेत्रमा सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र र मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर छन्। त्यस्तै निजी क्षेत्रमा विराटनगरको नोबेल अस्पताल र भरतपुरका मुटुसम्बन्धी अस्पतालमा पर्याप्त उपचार सेवा रहेको उनले बताए। अन्य अस्पतालमा भने अहिले पनि पर्याप्त सेवा सुरु नभएको भट्टराईले बताए। सातै प्रदेशमा आवश्यक उपकरण र दक्ष चिकित्सकसहित मुटु सेवा विस्तार भएमा हृदयाघातबाट हुने मृत्युलाई धेरै हदसम्म रोक्न सकिने उनको बुझाइ छ।
प्रकाशित: १३ आश्विन २०८३ ०९:१७ मंगलबार


-600x400.jpg)


