३ आश्विन २०८३ शनिबार
image/svg+xml
समाज

भोटेकोशी बाढी: अझै ३७ काभ्रेली सम्पर्कविहीन, तीन जनाको कुशको शवबाट अन्त्येष्टि

भोटेकोशीको बाढीमा परी बेपत्ता भएका काभ्रेपलाञ्चोकका नागरिक तीन हप्ता बितिसक्दा पनि फेला नपरेपछि परिवारले जीवितै भेटिने आश मार्न थालेका छन्।

लामो समयसम्म अत्तोपत्तो नलागेपछि बेपत्तामध्ये तीन जनाको परिवारले कुशको शव बनाई परम्पराअनुसार अन्त्येष्टि गरेका छन्। बाढीमा हराइरहेका अन्य ३७ जना अझै सम्पर्कविहीन छन्।

कुशको शव बनाएर दाहसंस्कार गरिएकामा पाँचखाल नगरपालिका-११ का राजकुमार गौतम, बनेपा नगरपालिका-१० का बालकृष्ण रञ्जित र प्रह्लाद गिरी रहेका छन्।

जिल्ला प्रशासन कार्यालयका अनुसार, बाढीमा ज्यान गुमाएका पाँचखाल-६ का बस चालक दिलकुमार श्रेष्ठ र रोशी-९ का शङ्खबुद्ध तामाङको शव भने यसअघि नै फेला परिसकेको थियो।

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले सम्पर्कविहीन नागरिकको खोजीका लागि स्थानीय प्रशासनले आवश्यक समन्वय र पहल निरन्तर गरिरहेको जानकारी दिए।

यद्यपि, जिल्लास्थित आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार कामको सिलसिलामा त्यहाँ पुगेर हराइरहेका ३७ जना नागरिक हालसम्म परिवार तथा प्रशासनको सम्पर्कमा आएका छैनन्।

हराइरहेका ३७ जना को-को हुन् ?

प्रशासनका अनुसार चौँरी देउराली गाउँपालिका-५ का हेमन्त चौलागाईं, प्रतीक गौतम, वडा नं ७ की सम्झना मोक्तान र वडा नं-२ घर भई कलङ्की बस्ने राजेन्द्र प्रधान बेपत्ता छन्।

त्यसैगरी, पनौती-५ का दिनेश श्रेष्ठ, वडा नं-३ का अच्युतम सापकोटा र वडा नं-९ का अर्जुन खत्री केसीको अवस्था अज्ञात छ।

बनेपा-९ का उद्धव सापकोटा, वडा नं-८ का एगेश श्रेष्ठ, आशिष गुभाजु, भोगेन्द्रकुमार खत्री र वडा नं १३ की प्रकृति डङ्गोल पनि सम्पर्कविहीन छन्।

यस्तै, पाँचखाल-११ का मिलन खरेल, वडा नं-३ का ज्ञानेन्द्रलाल श्रेष्ठ हराइरहेका छन् भने भुम्लु-१ का महेश पन्त, मिलन श्रेष्ठ, प्रकाश श्रेष्ठ, वडा नं-५ का राजकुमार रिजाल र वडा नं-८ का सुवास तामाङको खोजी भइरहेको छ।

बाढीपछि बेथानचोक-४ का राजकुमार लोप्चन, रोजिना लोप्चन र आइते तामाङ बेपत्ता छन्। तेमाल-७ का विशाल तामाङ, वडा नं-८ का गणेश लामा, वडा नं ६ का सुमन तामाङ, सुजित तामाङ, डुप्साङ तामाङ, ज्ञानबहादुर राना मगर र मिलन तामाङ अझै सम्पर्कमा आएका छैनन्।

त्यसैगरी, मण्डनदेउपुर–२ का कुलबहादुर तामाङ, धुलिखेल-२ का सङ्गम चौलागाईं, सुकुमान तामाङ, वडा नं-३ का मनिक भुजेल र वडा नं-८ का महेश तामाङ पनि हालसम्म सम्पर्कविहीन अवस्थामा रहेको केन्द्रले जनाएको छ।

प्रकाशित: ३ आश्विन २०८३ १८:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App