रसुवाको भोटकोशीमा आएको विनाशकारी बाढी प्रभावितलाई कपिलवस्तुका ६ पालिकाले १ करोड ९६ लाख ५६ हजार सहयोग गर्ने निर्णय गरेका छन्।
बाढी प्रभावितहरूलाई सहयोग गर्नको लागि ती पालिकाले सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेका हुन्।
कपिलवस्तु नगरपालिकाले ५१ लाख ११ हजार, वाणगंगा नगरपालिकाले ४५ लाख, बुद्धभूमि नगरपालिकाले ४३ लाख ४५ हजार, महाराजगन्ज नगरपालिकाले ३६ लाख रसुवामा आएको बाढी प्रभावितहरूको सहयोगको लागि प्रधानमन्त्री उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको पालिकाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
शिवराज नगरपालिकाले ११ लाखको खाद्यान्न र सरसामान दिने तथा विजय नगर गाउँपालिकाले १० लाख कोषमा जम्मा गरी सकेको छ। पालिकामा जनप्रतिनिधि कर्मचारी शिक्षकहरूले समेत कोषमा योगदान दिएका छन्।
कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले देशमा विपत्ति परेको बेला कपिलवस्तुका पालिकाहरूको समेत पुरा साथ दिने बताए।
बाडीपीडितको उद्धार घाइतेका उपचार, हराएकाहरूको खोजी, पुनर्स्थापनामा सरकारले विशेष ध्यान दिनु पर्ने उनले बताए।
बुद्धभुमी नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले देशमा संकट पर्दा आफूहरूको समेत पुरा साथ रहेको बताए। उनले नेपालमा जहाँ जस्तोसुकै अवस्थामा समस्या पर्दा स्थानीय सरकारले पनि सो स्थानमा सहयोग गर्नु पर्ने मानवीय दायित्व भएको बताए।
कपिलवस्तुका अन्य ४ पालिकाले समेत सहयोग दिने बताएका छन्। बाढी प्रभावितका लागि उद्धार कोषमा उद्योगी व्यापारी, वन क्षेत्र, विद्यालय, समाजसेवी लगायतले समेत धमाधम रकम जम्मा गरेर सहयोग जारी राखेका छन्।
प्रकाशित: १७ भाद्र २०८३ १७:३४ बुधबार





