भोजपुरका किसानका गाईभैंसीमा कृत्रिम गर्भाधान सेवा सुचारु गरिएको छ। नश्ल सुधार गरेर किसानलाई उन्नत जातका पशुपालनमा प्रोत्साहन गर्न यहाँ कृतिम गर्भाधान सेवा सुचारु गरिएको हो।
नश्ल सुधार मार्फत किसानलाई उन्नत जातका पशुपालनमा लाग्न सहजता थप्न कार्यक्रम सञ्चालन गरिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र भोजपुरका प्रमुख पुष्पराज दाहालले बताए।
हालसम्म यहाँका किसानका ११ गाईभैंसीमा कृत्रिम गर्भाधान सेवा प्रदान गरिएको उनको भनाइ छ। “गाईभैंसीमा नश्ल सुधार गर्न कृतिम गर्भधान सेवा प्रदान गरिरहेका छौं” प्रमुख दाहालले भने,“हालसम्म ११ पशुको कृतिम गर्भाधान गराएका छौं। सेवा केन्द्रसँगै किसानको गोठसम्म पुगेर सेवा प्रदान गरिरहेका छौं।”
यहाँका धेरै किसान पशुपालनमा लागेका भए पनि गाईभैंसीको नश्ल राम्रो नहुँदा सोचे जस्तो आम्दानी लिन सकिरहेका छैनन्। पशुको नश्ल सुधार गरेर मासु तथा दूध उत्पादन वृद्धि गराउने उद्देश्यले सेवा सुचारु गरिएको केन्द्रको भनाइ छ।
कृत्रिम गर्भधान गराउँदा नश्ल सुधारसँगै साढेबाट सर्ने रोग न्यूनीकरणमा सहयोग पुग्ने प्रमुख दाहालहको भनाइ छ। कृत्रिम गर्भधानले पशुहरूको वंशाणु विकास गरेर पशुपालक किसानलाई थप लाभान्वित हुनमा सहयोग पुर्याउने विज्ञ केन्द्रले जनाएको छ।
प्रकाशित: १२ श्रावण २०८२ ०९:३६ सोमबार




-600x400.jpg)
