२७ कार्तिक २०८३ शुक्रबार
image/svg+xml
समाज

भीमफेदी दुर्घटना : छठको चुल्होमा आगो बलेन, गाउँमा शवको प्रतीक्षा

तस्बिर: मदन ठाकुर/नागरिक

सर्लाहीको बरहथवाबाट करिब १५ किलोमिटर दक्षिण–पूर्वमा रहेको सुन्दरपुर गाउँमा छठ पर्वको व्यापक चहलपहल थियो। घरघरमा सरसफाइ भइरहेको थियो। घाट सजाउने, पूजाका सामग्री जुटाउने र महाप्रसाद बनाउने तयारी चलिरहेको थियो। छठको पवित्रताका लागि गाउँका महिलाहरू माटोका चोखा चुल्हो बनाउँदै थिए। तर कसैलाई के थाहा, केही घण्टापछि यही गाउँमा छठको खुसी आँसुको भेलमा परिणत हुनेछ। घर फर्किने प्रतीक्षामा रहेका परिवारका आँगनमा प्रियजनका शव आइपुग्नेछन्।

सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरस्थित निर्मला देवी यादवको घरमा पनि छठको तयारी भइरहेको थियो। काठमाडौंमा तरकारी व्यापार गर्दै आएका छोरा अवधेश यादवलाई आमाले बुधबार बिहानै फोन गरिन्। उनले छठ पर्व मनाउन घर आउन आग्रह गरिन्।

आमाको आग्रहपछि अवधेशले आफ्नी आठ महिनाकी गर्भवती श्रीमती पुनम देवी, तीन छोरी र दुई भाइलाई गाउँ फर्किन लागेको विद्युतीय हाइसमा चढाइदिए। गाडीमा गाउँकै अन्य यात्रु र चालकसहित १४ जना सवार थिए। परिवारका सदस्यहरू घरतर्फ लागेपछि अवधेश भने काठमाडौंमै रोकिए।

बिहीबार बिहान करिब ३ बजे अवधेशले आमा निर्मलालाई फोन गरे। गाडीमा ठाउँ नभएकाले आफू आउन नपाएको र बुहारी, नातिनी तथा दुई भाइलाई घर पठाइसकेको जानकारी दिए। बिहान खाना खाने बेलासम्म परिवारका सदस्यहरू घर आइपुग्ने आशामा निर्मला थिइन्।

तस्बिर: मदन ठाकुर/नागरिक

घरमा छठको माहोल थियो। तीन नातिनीपछि गर्भवती भएकी बुहारी पुनमको गर्भमा छोरा रहेको चिकित्सकले बताएका थिए। छठ पर्व सकिएको केही दिनपछि पुनमको सुत्केरी हुने समय थियो। परिवारमा नयाँ सदस्यको आगमनको प्रतीक्षा पनि उत्तिकै थियो।

तर त्यो प्रतीक्षा कहिल्यै पूरा नहुने भयो।

बिहीबार बिहानै मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीमा विद्युतीय हाइस दुर्घटना भएको खबर सुन्दरपुर आइपुग्यो। दुर्घटनामा आफ्नै परिवारका सदस्य परेको खबर सुन्नासाथ निर्मलाको संसार भत्कियो। केहीबेरमै बुहारी, नातिनी र छोराहरूको अवस्थाबारे बुझ्न उनी विक्षिप्त भइन्।

दुर्घटनामा घाइते भएको खबर सुनेपछि उनी हेटौँडासम्म पुगिन्। तर त्यहाँ पुगेपछि उनले भोगेको पीडा शब्दमा बयान गर्न सकिने खालको थिएन। राति नै उनलाई सुन्दरपुर फर्काइयो। अहिले उनको आँखाले घर फर्किने बाटो हेरिरहेका ती छ जना प्रियजनलाई खोजिरहेको छ। बुहारी पुनम, तीन नातिनी र दुई छोरा अब कहिल्यै घर नफर्किने यथार्थ स्वीकार गर्न उनलाई कठिन भइरहेको छ।

एउटै परिवारका छ सदस्य गुमाएको पीडा निर्मलाको मात्रै होइन, सिंगो सुन्दरपुरको साझा पीडा बनेको छ।

बुवाले झ्यालबाट फालेर बचाए पाँच वर्षीय सक्षमको ज्यान, श्रीमतीसहित आफू भने रहेनन्

निर्मलाकै छिमेकी कोशिला देवी यादवको पीडा पनि उस्तै छ। दुर्घटनामा उनले छोरा गुडु यादव र बुहारी गायत्री देवी यादवलाई गुमाएकी छन्।

काठमाडौंको टिकाथलीमा तरकारी व्यापार गर्दै आएका २६ वर्षीय गुडु पाँच वर्षीय छोरा सक्षम र तीन वर्षीय छोरा सुजनसहित छठ मनाउन गाउँ फर्किंदै थिए। तर घर पुग्नुअघि नै उनीहरूको यात्रा भीमफेदीको चिसापानीमा दुर्घटनामा पर्‍यो।

दुर्घटनाको भयावह क्षणमा गुडुले आफ्नो पाँच वर्षीय छोरा सक्षमलाई गाडीको झ्यालबाट बाहिर फालिदिए। सक्षम झाडीमा अड्किएर ज्यान जोगाउन सफल भए। तर उनलाई बचाउन खोज्ने बाबु र आमा भने फर्किएनन्।

आफू कसरी बाँचेको भन्ने पीडादायी सम्झना बोकेका सक्षमले अब बाल्यकालमै आमाबुवाको साथ गुमाएका छन्। पाँच वर्षको कलिलो उमेरमा उनले भोगेको यो वियोगले गाउँलेहरूलाई स्तब्ध बनाएको छ।

गुडु र गायत्रीको मृत्युले कोशिलाको काख रित्तिएको छ भने दुई बालबालिकाले आमाबुवाको माया गुमाएका छन्।

छठको चुल्होमा आगो बलेन, गाउँमा शवको प्रतीक्षा

सुन्दरपुरमा अहिले छठ पर्वको रौनक छैन। न त घरघरमा परिकार पाकिरहेका छन्, न त घाटमा अर्घ्य दिने उत्साह छ। बिहीबार नहाय–खायको दिन आफन्तहरू पर्वको तयारीमा व्यस्त हुनुपर्ने थियो। तर गाउँलेहरू मृतकका शवको प्रतीक्षामा छन्।

कसैको घरमा छोरा गुमेको छ, कसैको घरमा बुहारी र नातिनातिना। कतै आमाबुवाविहीन बालबालिका छन्, कतै सन्तान गुमाएका वृद्धवृद्धा। एउटै दुर्घटनाले गाउँका धेरै परिवारको खुसी खोसेको छ।

तस्बिर: मदन ठाकुर/नागरिक

जुन घरमा छठको महाप्रसाद पकाउने तयारी हुँदै थियो, त्यही घरमा अहिले चुल्हो बलेको छैन। जुन आँगनमा नातिनातिनाको हाँसो गुञ्जिनुपर्ने थियो, त्यहाँ रुवाबासी छ। छठको अर्घ्य दिन घर फर्किरहेका मानिसहरूको यात्रा सदाका लागि टुंगिएको छ।

क्षमताभन्दा बढी यात्रु, सडक सुरक्षामाथि प्रश्न

यस दुर्घटनाले यात्रुवाहक सवारीसाधनको क्षमता, चालकको जिम्मेवारी र सडक सुरक्षाको अवस्थामाथि गम्भीर प्रश्न उठाएको छ। प्रारम्भिक विवरणअनुसार हाइसमा स्वीकृत क्षमताभन्दा बढी यात्रु सवार रहेको हुन सक्ने आशंका गरिएको छ। यद्यपि दुर्घटनाको वास्तविक कारण र यात्रु क्षमतासम्बन्धी विषय आधिकारिक अनुसन्धानबाट पुष्टि हुन बाँकी छ।

चाडपर्वका बेला गाउँ फर्किने यात्रुको चाप बढ्ने गरेको छ। यस्तो अवस्थामा सवारीसाधनको प्राविधिक अवस्था, यात्रु क्षमता र चालकको सतर्कतामा विशेष ध्यान दिनुपर्ने आवश्यकता यस घटनाले पुनः उजागर गरेको छ।

तर सुन्दरपुरका लागि अहिले यी प्रश्नभन्दा ठूलो प्रश्न आफ्ना प्रियजनको अन्तिम अनुहार हेर्न पाउने समय कहिले आउला भन्ने हो।

छठ पर्वमा घर फर्किने वाचा गरेका छोरा, बुहारी र नातिनातिनाको प्रतीक्षामा बसेकी निर्मलाको आँगनमा अब उनीहरूको पाइला सुनिने छैन। नयाँ सन्तानको स्वागतको तयारीमा रहेको परिवारले गर्भमै रहेको शिशुसहित जीवनका सात खुसी गुमाएको छ।

यस वर्ष सुन्दरपुरमा छठको अर्घ्य त दिइएला, तर धेरै घरका आँगनमा खुसी फर्किने छैन। गाउँलेका आँखामा आँसु रहनेछन्, आमाहरूको काख रित्तिनेछ र बालबालिकाको बाल्यकाल आमाबुवाको सम्झनामा बित्नेछ।

छठ मनाउन घर फर्किएको त्यो हाइस सुन्दरपुरका लागि अब कहिल्यै नमेटिने पीडाको कथा बनेको छ।

मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीमा बिहीबार बिहान भएको विद्युतीय हाइस दुर्घटनामा सर्लाहीको सुन्दरपुर गाउँका १४ जनाले ज्यान गुमाएका छन्। मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको हाइस दुर्घटनामा परेको थियो। दुर्घटनामा छ जना घाइते भएका छन्।

तस्बिर: मदन ठाकुर/नागरिक

चक्रघट्टा गाउँपालिका अध्यक्ष कृष्णकुमार यादवका अनुसार दुर्घटनामा प्रमोद यादवका २६ वर्षीय छोरा गुडु यादव र उनकी २४ वर्षीया श्रीमती गायत्री देवी यादवको मृत्यु भएको छ।

त्यसैगरी राम सुनर यादवका २५ वर्षीय छोरा विकेश यादव र १६ वर्षीय छोरा सुधेश यादवले ज्यान गुमाएका छन्।

अवधेश यादवकी आठ महिनाकी गर्भवती श्रीमती पुनम यादव तथा उनका छोरीहरू १० वर्षीया अनु यादव, सात वर्षीया शिक्षा यादव र छ वर्षीया दीपिका यादवको पनि दुर्घटनामा मृत्यु भएको छ।

त्यस्तै निरसु रायका ४० वर्षीय छोरा राकेश राय र १४ वर्षीय नाति रोहन राय, चन्देश्वर रायका २५ वर्षीय छोरा सुबोध राय, निरस रायका २५ वर्षीय छोरा राम दुलार राय र अमिरी रायका २५ वर्षीय छोरा राम प्रवेश रायको पनि ज्यान गएको छ। दुर्घटनामा सवारीचालक सर्लाहीको कविलासी नगरपालिका–८ का ३० वर्षीय रविशंकर मण्डलको समेत मृत्यु भएको छ।

दुर्घटनामा मुकेश राय, देवेन्द्र राय, बेचु भनेर चिनिने देवेन्द्र राय, मृतक गुडु यादवका पाँच वर्षीय छोरा सक्षम राय, तीन वर्षीय छोरा सुजन राय र अवधेश यादवका १६ महिने छोरा सुदीप यादव घाइते भएका छन्। उनीहरूको अस्पतालमा उपचार भइरहेको गाउँपालिका अध्यक्ष यादवले जानकारी दिएका छन्।

प्रकाशित: २७ कार्तिक २०८३ १३:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App