पुत्र, पति र परिवारका सदस्यहरूको आरोग्यता तथा सुख, समृद्धिको कामना गर्दै महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलमा आज महिलाहरू भदैया रैब पर्व मनाइरहेका छन्।
मिथिला क्षेत्रका गाउँगाउँमा आज बिहानदेखि बर्तालु महिलाहरूले घरघरमा ठेकुवा (सक्खर हालेर बनाइएको एक प्रकारको पकवान) पकाएर, केरा, मकै, काँक्रो, स्याउ लगायत फलफूल, अक्षता, सुपारी र पानसहितका वस्तु लिएर रैब पर्व मनाउन सुरु गरेका छन्।
आज बर्तालु महिलाहरू फलफूल, मिठाई र पकवानसहितका पूजा सामग्रीसहित नजिकैको पोखरी, तलाउ वा नदीमा गई सूर्यदेवतालाई अर्घ्य चढाउँदै पर्व मनाउने जलेश्वर नगरपालिका–१ स्थित बाबा जलेश्वरनाथ महादेवका पुजारी उपेन्द्र पाठकले बताए।
रैब सूर्य देवताकै पूजा उपासना गरी मनाइने पर्व हो। भदौमा मनाइने भएकाले यसलाई भदैया रैब पर्व पनि भनिन्छ। पोखरी, तलाउ वा नदीमा स्नान गरी, सूर्य देवतालाई पूजा सामग्रीको अर्घ्य दिएर बर्तालुहरू आआफ्ना घरमा जान्छन् भने घर पुगेर आँगन वा पिँढीमा फेरि नेउज हाल्छन्।
नेउज हाल्ने क्रममा बर्तालुहरू भुइँलाई पानी र गङ्गाजलले लिपेर, केराको पातमाथि सक्खर हालेर बनाइएको खिर र केरा चढाउने गर्दछन्। यस क्रममा प्रत्येक परिवारबाट कतिले रैब पर्व गर्ने हो, त्यसका लागि प्रत्येक एकजनाका लागि दुई नेउज (दुई स्थानमा प्रसाद चढाउने) हाल्ने गनुपर्छ।
पर्वमा अरूका लागि पनि अरूले नेउज (प्रसाद चढाइदिने) हाल्न सक्छन्। आफ्नो परिवारका कुनै सदस्य बाहिर रहेको वा घरमा आउन नसक्ने अवस्थामा रहेको बेला अरूको नाममा अरूले नेउज हाल्ने गर्दछन्।
नेउज हालिसकेपछि (प्रसाद चढाइसकेपछि) बर्तालुहरूले फलफूल ग्रहण गर्न सक्छन्। आज राति उनीहरूले नुनबिनाको खानेकुरा (फलफूल, खिर, केरा, स्याउ)लगायत वस्तु नै खाएर बस्ने चलन छ।
त्यसैगरी अब आजैदेखि मिथिलाञ्चलका प्रत्येक गाउँठाउँका प्रायःजसो महिलाले प्रत्येक आइतबार रैब पर्वका लागि दिनभरि उपवास बस्ने र बेलुका नुनबिनाको खानेकुरा खाएर छ महिनासम्म रैब पर्व मनाउनेछन्। कोहीकोहीले भने महिनाको एउटा आइतबारको दिन मात्र उपवास बसेर पनि यस पर्व मनाउने चलन रहेको जलेश्वर-८ की बर्तालु रेणु देवीले बताइन्।
मिथिला क्षेत्रमा परम्परागत रूपमै यसपर्व सुख, समृद्धि र विशेषगरी आरोग्यताका लागि मनाउने परम्परा रहेको जलेश्वर–५ का संस्कृतिविद् ध्रुव राय बताउँछन्।
प्रकाशित: १५ भाद्र २०८२ ११:५२ आइतबार

