जिल्ला प्रशासन कार्यालय लमजुङले आगामी चार दिनसम्म भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई अपिल गरेको छ।
सम्भावित बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समितिले असोज १७ गतेदेखि २० गतेसम्मका लागि बेसीशहर-चामे सडकखण्ड रातिमा बन्द गर्नेलगायतका महत्त्वपूर्ण निर्णयहरू गरेको छ।
जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पूर्वानुमान तथा अनुरोधअनुसार जिल्ला सुरक्षा समितिले उक्त निर्णय लिएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी थमन सिंह गौतमद्वारा जारी सूचनाअनुसार, बेसीशहर-चामे सडकखण्डको खुदीदेखि जगतसम्मको भागमा साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म सवारीसाधन आवतजावत पूर्ण रूपमा बन्द गरिनेछ।
प्रशासनले उक्त अवधिमा अत्यावश्यक कामबाहेक रातिको समयमा जोखिमपूर्ण यात्रा नगर्न र नगराउनसमेत आग्रह गरेको छ। पहिरोको जोखिममा रहेका तथा नदी किनारका बासिन्दाहरूलाई विशेष सावधानी अपनाउन भनिएको छ।
विपद्को अवस्थामा तत्काल उद्धार तथा राहतका लागि सुरक्षा निकाय, स्थानीय तह र सरोकारवालाहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।
खुदी, जगत, उदीपुर र भिमिरिभञ्ज्याङ जस्ता जोखिमपूर्ण सडकखण्डमा सडक अवरुद्ध भएमा तत्काल खुलाउन डोजर, एक्साभेटरजस्ता उपकरणहरू तयारी अवस्थामा राखिएको प्रशासनले जनाएको छ।
कुनै पनि विपद्जन्य घटना भएमा तुरुन्त नजिकको प्रहरी इकाई, स्थानीय तह वा जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रको फोन नम्बर ०६६-५२०१३४ मा सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ।
प्रकाशित: १७ आश्विन २०८२ २०:१३ शुक्रबार





