१० फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

बेलकाका ट्याक्टर व्यवसायी आन्दोलित

बेलका नगरपालिका। तस्बिरः महेश्वर

जिल्लाको बेलका नगरपालिकाका ट्याक्टर व्यवसायीहरू आन्दोलित भएका छन्। नगरपालिकाले सडकमा गुडिरहेका ट्याक्टरहरूलाई अनावश्यक धरपकड गर्नुका साथै नियन्त्रणमा लिएर दुःख दिने गरेको विरोधमा व्यवसायीहरू आन्दोलनमा उत्रिएएका हुन्।

ट्याक्टर व्यवसायी संघ बेलकाले भर्खरै प्रेस विज्ञप्ती प्रकाशित गरि नगरपालिकाले व्यवसायीलाई अनावश्यक दुःख दिने गरेको, सडकबाटै पक्राउ गरी चर्को जरिवाना तिराउँदै आएको गुनासो गरेको छ। त्यसैगरी फागुन पहिलो साता बितिसक्दासम्म नदीजन्य पदार्थको उत्खनन र बिक्री वितरण कार्य खुल्ला नगरेको समस्याविरुद्ध आन्दोलन गर्न बाध्य भएको गुनासो गरेको छ।

बेलका ट्याक्टर व्यवसायी संघका अध्यक्ष शनवीर राईका अनुसार फागुन ५ गते बसेको संघको बैठक निर्णय अनुसार नगरपालिकाले ५ दिनभित्र अर्थात फागुन १० गतेसम्ममा माग सम्बोधन गर्न अल्टिमेटम दिइएको छ। त्यस बेलासम्म माग पूरा नभए अनिश्चितकालीन बन्द हड्तालजस्ता संघर्षका कार्यक्रम गर्ने चेतावनी उनले दिए।

बैठकले आउँदो १० गतेभित्र स्थानीय खोला खोल्सीबाट ढुङ्गा, गिटी, बालुवा निकाल्न खुल्ला गर्नुपर्ने, ट्याक्टरलाई अनावश्यक दुःख दिन छाड्नुपर्ने, पक्राउ परेका व्यवसायी तथा चालकबाट चर्को जरिवाना तिराउने तथा अनावश्यक दुःख दिने काम बन्द गर्नुपर्ने माग गरेको अध्यक्ष राईले बताएका छन्।  

यदि संघका मागहरू ५ दिनभित्र पूरा नभएमा १० गतेपछि अनिश्चितकालीन आन्दोलन अघि बढाउने चेतावनी पनि विज्ञप्तिमार्फत दिइएको छ। संघका अध्यक्ष राई र सचिव प्रदिप बस्नेतद्वारा संयुक्त हस्ताक्षरित विज्ञप्तिमा गएको साउनदेखि असोजभित्र नदीजन्य कच्चा पदार्थ निकाल्न खुल्ला गर्नुपर्ने प्रावधान भए पनि फागुन पहिलो सातासम्म नखोलिएकाले स्थानीयवासी समस्यामा रहेको बताइएको छ।  

नियमानुसार बन्द गरे पनि असोजमै खोल्नुपर्ने नदीजन्य पदार्थ फागुनसम्म नखोल्दा एकातिर नगरवासीको भौतिक पूर्वाधार संरचना निर्माण कार्यदेखि सर्वसाधारणले घर टहरा बनाउँनसमेत नसकेको अवस्थामा व्यक्तिगत खेतबारीबाट निकालेको कच्चा पदार्थसमेत पक्राउ गरि चर्को जरिवाना लिने, दुःख दिनेजस्ता हर्कत अब सह्य नहुने चेतावनी विज्ञप्तिमा दिइएको छ।  

खोला नदीको कच्चा पदार्थ नगरपालिकाले नखुलाएका कारण ट्याक्टर व्यवसाय धरासायी भइसकेको तथा स्थानीवासीले घरटहरा र स्वयं सरकारी संरचना निर्माणमा पनि समस्या आइरहेको संघले ध्यानाकर्षण गराएको छ। नगरवासीको आवश्यक्तालाई मध्येनजर गर्दै व्यक्तिगत खेतबारीको ढुंगा गिटी बालुवा झिकेर काम चलाउन खोज्दा उल्टै नगरापालिकाले ट्याक्ट र चालक सहचालकलाई पक्राउ गरि दुःख दिने र अनावश्यक चर्को जरिवाना तिराउने घट्नाप्रति संघले खेद व्यक्त गरेको छ।

अध्यक्ष राईले असोजदेखि खुला हुनुपर्ने नदीजन्य पदार्थ उत्खनन र बिक्री वितरण कार्य अहिलेसम्म खुला नगर्दा निर्माण कार्यमा मात्र समस्या नभएर ट्याक्टर व्यवसायीहरू र ट्याक्टरमा ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका कामदारहरू बेरोजगार भएकोप्रति पनि विज्ञप्तिमा ध्यानाकर्षण गराइएको छ।  

कानुनी रूपमा बन्देज लागेका कारण व्यवसायीहरूले निजी जग्गाबाट किनेर ओसार पसार गर्ने गरेको ढुंगा, गिटी, बालुवासमेत नियन्त्रणमा लिएर जबर्जस्ती महँगो जरिवाना लिने गरेको आरोप संघले लगाएको छ।  

असोजदेखि नै खुल्ला हुनुपर्ने नदीजन्य पदार्थको उत्खनन तथा बिक्री विरतण कार्य फागुन पहिलो सातासम्म टेन्डर लगाउन नगरपालिकाले सर्वसाधारण नगरवासी र व्यवसायीलाई चर्को आर्थिक भार र बेरोजगारको मारमा पारेको संघका सचिव बस्नेतले बताए।

प्रकाशित: ८ फाल्गुन २०८२ १९:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App