यहाँको बेलका नगरपालिकाले करारमा कार्यरत १३ जना कर्मचारी हटाएको छ। भदौ १६ गते बसेको दोस्रो नगर कार्यपालिका बैठकले करारमा कार्यरत १३ जना कर्मचारी हटाउने निर्णय भएको नगरपालिकाले जनाएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशन अनुसार दरबन्दीभन्दा बढी करारका कर्मचारी हटाउने निर्णय गर्दै बैठकले करार सेवा अवधि नवीकरण नगर्ने निर्णय गरेको जनाएको छ। मन्त्रालयको संस्थागत विकास तथा सुशासन समितिले मन्त्रालयले स्वीकृत गरेको भन्दा बढी दरबन्दीका करार कर्मचारीलाई नवीकरण नगर्न सिफारिस गरे मुताविक बैठकले निर्णय गरेर हटाइको जनाइएको छ।
आर्थिक वर्ष सुरु भएपछि साउनमा सबै कर्मचारीको करार अवधि थपेकोमा भदौ दोस्रो साता आएर १३ जनालाई हटाउँदा आफूहरू अन्यायमा परेको गुनासो आएको छ। बेलकामा कार्यरत ८९ जना कर्मचारीमध्ये १३ जनालाई हटाउने निर्णय नगरले गर्दा कार्यपालिकाभित्रै मत बाझिएको सार्वजनिक भएको छ।
साउनमा म्याद थपेर काम थालेका कर्मचारीहरूलाई मन्त्रालयलाई हवाला दिएर हटाउने निर्णयमा उपप्रमुख, वडाध्यक्ष र कार्यपालिका सदस्यहरूले विरोध गरेको जनाइएको छ। उपमेयर जिरा राई, ५ नं. वडाध्यक्ष बसन्त मगर, प्रेम राउत, दिपकराज रेग्मीलगायतले बैठकमा फरक मत राख्दै कर्मचारी हटाउँदा विकास र सेवा प्रवाहमा असर पर्ने बताएका थिए। नगर सभाबाट सेवासुविधा व्यवस्थापन गर्ने निर्णय भइसकेको अवस्थामा कर्मचारी हटाउनु नपर्ने आधार प्रस्तुत गरेको बताइएको छ।
कर्मचारी हटाउने निर्णयको नेकपा (एमाले) बेलका नगर कमिटीले विरोध जनाएको छ। अध्यक्ष हिराजङ राईले फरक राजनीतिक आस्था बोकेकै आधारमा कर्मचारी हटाएको आरोप लगाउँदै यदि त्यसो हो भने त्यो निन्दनीय भएको प्रतिक्रिया दिए।
उपमेयर जिरा राईले मेयरले बहुमतको नाममा कार्यरत कर्मचारीलाई बीच बाटोबाट हटाउनु गलत भएको बताउँदै आफ्नो असहमति रहेको बताइन्। उनले बरू नगरपालिकाले फजुल खर्च कटौती गर्दै कर्मचारीलाई नहटाउन आग्रह गरेको पनि बताएकी छिन्।
बेलकामा मेयर अशोक कार्की नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)को गठबन्धनबाट निर्वाचित हुन् भने उपमेयर राई एमालेबाट निर्वाचित हुन्। फरक पार्टी भएका कारण बेलाबेला आन्तरिक कलहमा फस्दै आएको बेलका नगरपालिका अहिले आएर कर्मचारी हटाउने वा राक्ने विषयमा फेरि एकपटक अन्तरद्वन्द्वमा फसेको छ।
प्रकाशित: १९ भाद्र २०८२ १३:३२ बिहीबार





