वैदेशिक रोजगारीका लागि युवापुस्ता विदेशिइरहेका बेला बैतडीका एक किसानले भने गाउँमै मौरीपालनबाट वार्षिक लाखौँ रुपैयाँ आम्दानी गरिरहेका छन्।
सुर्नया गाउँपालिका–७ मालम बगरका प्रेमबहादुर विष्टले घरका भित्ता, सडक किनारदेखि भिरपाखासम्म मौरीका घार राखेर व्यावसायिक मह उत्पादन गर्दै आएका हुन्।
विगत २५ वर्षदेखि मौरीपालन व्यवसायमा सक्रिय विष्टसँग हाल ५० वटा घार रहेका छन्। जसबाट उनले वार्षिक दुई क्विन्टलसम्म मह उत्पादन गर्दै आएका छन्। स्थानीय बजारमै प्रतिकिलो १ हजार ५ सय रुपैयाँमा मह बिक्री हुने गरेको र यसबाट वर्षमा अढाइदेखि तीन लाख रूपैयाँसम्म खुद आम्दानी हुने गरेको विष्टले जानकारी दिए।
‘लामो समयदेखि मौरीपालन गर्दै आएको हुँ। घार राख्ने ठाउँ अभाव भएपछि सडक किनार र भिरपाखामा समेत घार राखेको छु,’ विष्टले भने, ‘उत्पादन भएको महले सजिलै बजार पाइरहेको छ। थप व्यवसाय विस्तार गर्न सके बजारको कुनै समस्या छैन।’
उनका अनुसार वर्षमा दुईपटक मह निकाल्ने गरिन्छ। पहिलोपटक चैत/वैशाख र दोस्रोपटक कात्तिक/मङ्सिरमा मह निकाल्ने गरिएको हो। एकपटकमा कम्तीमा एक क्विन्टलभन्दा बढी मह उत्पादन हुने गर्दछ।
व्यावसायिक फड्को मारे पनि परम्परागत प्रविधिका कारण मौरी जोगाउन भने सकस भइरहेको विष्टको अनुभव छ। आधुनिक घारको अभावमा काठका पुराना घार प्रयोग गर्दा वर्षात्को चिसो र मलसाप्रो जस्ता जङ्गली जनावरबाट मौरी बचाउन कठिन हुने गरेको छ।
यस्तै, पछिल्लो समय तरकारी खेतीमा रासायनिक विषादीको प्रयोग बढ्दा मौरीहरू मर्ने गरेको र यसले व्यवसायमा थप चुनौती थपेको उनले बताए। मौरीपालनसँगै विष्टले आम्दानी बढाउन बाख्रापालनसमेत गर्दै आएका छन्।
प्रकाशित: ३० श्रावण २०८३ १४:०८ शनिबार





