१३ आश्विन २०८३ मंगलबार
image/svg+xml
समाज

कुटपिट गरेर ह*त्या, घटना लुकाउन भिरमा लगेर खसालियो

असोज ५ गते कैलाली चुरे गाउँपालका वडा नं १ तुलीखेत टोलका ५२ वर्षीय यज्ञबहादुर बोहरा र उनकी श्रीमती मिना बोहरा गाउँमै दाजु नाता पर्ने धनबहादुर बोहराको नातिको पास्नीमा गए। पास्नी भएको घर उनको भन्दा करिब एक किलोमिटर जति टाढा थियो।

पास्नीको भोज सँगै डिजे बजाएर सबै जना रमाइरहेका थिए। घरमाथि सडक छेउमा यज्ञबहादुर लगायत ८-९ जना मदिरा सेवन गर्न थाले। साँझ खाना खाएर घर जाउँ भनेर खोज्दा उनले त्यहाँ श्रीमान् भेटिनन्। श्रीमान् कहाँ छन् भनेर शोद्धा त्यहाँ भएका अन्य व्यक्तिले घर गइसक्नु भयो भनेर जवाफ दिएको उनले बताइन्।

उनीहरू त्यहाँ गम्भीर मुद्रामा केही छलफल गरिरहेको अवस्थामा रहेको उनको भनाइ छ। ‘म घर पुगेँ। घरमा पनि श्रीमान् थिएनन्,’ उनले भनिन्। साँझदेखि सम्पर्कविहीन भएका उनको खोजतलास गर्ने क्रममा असोज ६ गते दिउँसो ४ बजेतिर बोहरा तुलिखेत जंगलको भिरमा मृत अवस्थामा फेला परेका थिए।

भिरबाट करिब २ सय मिटर तल मृत अवस्थामा फेला परेको उनका साला गणेश बोहराले बताएका छन्। पास्नीदेखि बोहराको घर पुगेपछि अझै २ सय मिटर पश्चिम तर्फको भिरभन्दा तल भिनाजु मृत अवस्थामा फेला परेको उनको भनाइ छ।

भोज खाने क्रममा यज्ञबहादुर बोहरालाई कुटपिट गर्दा ज्यान गएको र घटना लुकाउन भिरमा लगेर फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ।

श्रीमतीलाई कुटपिट गरिरहने भएकाले नाताले नाति पर्ने मानबहादुर बोहरालाई यज्ञबहादुरले किन कुटपिट गर्छौ भनेर सम्झाउन खोज्दा उनले भिनाजुलाई कुटपिट गरेको गणेश बोहराले बताए। गुप्ताङ र कन्चटमा हानेर भिनाजुको हत्या भएको उनको भनाइ छ। 

श्रीमान् कहाँ छन् भनेर दिदीले खोज्दा यज्ञबहादुर बोहरालाई छेउछाउमै राखिएको भए पनि घर गइसके भनेर झुठो कुरा बोलेको उनले बताए। ‘दिदी त्यहाँबाट घर गइसकेपछि भिनाजुलाई राति भिरमा लगेर फालेको देखिन्छ,’ उनले भने।

पास्नीमा मदिरा सेवन गर्ने क्रममा यज्ञबहादुर र मानबहादुरबीच विवाद भएको थियो। विवाद कुटपिटमा परिणत हुँदा यज्ञबहादुर भुइँँमा ढलेर अचेत भएका थिए।

यज्ञबहादुर अचेत अवस्थामा भुइँमा ढलेको देखिने एक भिडियोसमेत सार्वजनिक भएको छ। भिडियोमा अचेत अवस्थामा यज्ञबहादुर भुइँमा ढलेको देखिन्छन्। छेउमा एक जनाले तपाईँले यसो गरेको गलत हो भनेको सुनिन्छ। अर्को व्यक्तिले मरे पनि म जाने हुँ जेल भनेको सुनिन्छ। अर्को व्यक्तिले छोडिदेउ भनेको सुनिन्छ। अर्को व्यक्तिले तपाईँ तमाशा हेर्ने भनेको सुनिन्छ। तर त्यहाँ आवाज सुनिए पनि बोल्नेहरू कोही पनि भिडिओमा देखिएका छैनन्।

श्रीमतीको झगडाको विषयलाई लिएर विवाद भएपछि कुटपिट गर्दा बोहराको मृत्यु भएको र त्यसपछि ३ जनाले घटना लुकाउन बोकेर भिरमा लगि फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय मालाखेतीका एक प्रहरी अधिकृतले बताएका छन्।

भिरबाट आफैँ लडेको देखाउन बोकेर लगेर फालेको उनको भनाइ छ।

पास्नीमा घरमाथि सडक छेउमा यज्ञबहादुर सँगै बसेर मदिरा सेवन गरेका आठै जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

मृतकका छोराले दिएको जाहेरीका आधारमा आठै जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायव उपरिक्षक हिरा सिंह महराले बताए।

पक्राउ पर्नेमा पास्नी भएको घरका धनबहादुर बोहरा, मानबहादुर बोहरा, गोविन्द बोहरा, यज्ञबहादुर बोहरा, दिलीप धामी, रामबहादुर बोहरा, गम्भीर बोहरा र तिलक जेठारा छन्।

पक्राउ परेकामध्ये केहीले प्रहरीसमक्ष घटनास्थलमै मृत्यु भएको र फस्ने डरले शव भिरमा फालेको बयान दिएको प्रहरी स्रोतको भनाइ छ। प्रहरी नायव उपरीक्षक महराले विभिन्न कोणबाट घटनाको अनुसन्धान भैरहेको बताएका छन्।

प्रकाशित: १३ आश्विन २०८३ १३:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App