३ कार्तिक २०८३ मंगलबार
image/svg+xml
समाज

पूजा–हवनमा प्रयोग हुने चिल्लो पदार्थलाई ‘घिउ’ भनेर बिक्री गर्न रोक

सरकारले पूजा, होम, हवन तथा दीप प्रज्वलनका लागि तयार गरिने चिल्लो पदार्थलाई खाद्य घिउका रूपमा उत्पादन तथा बिक्री वितरण गर्न प्रतिबन्ध लगाएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सोमबार एक  सूचना जारी गर्दै यस्तो चिल्लो पदार्थ खाद्य घिउसँग मिल्दोजुल्दो देखिने गरी बिक्री भइरहेको भन्दै बजारमा पठाउन रोक लगाएको हो।

यस्ता उत्पादनको रङ, गन्ध, स्वरूप र प्याकेजिङ खाद्य घिउसँग मिल्दोजुल्दो हुने भएकाले उपभोक्ता झुक्किएर खानामा समेत प्रयोग गर्न सक्ने जोखिम रहेको विभागको ठहर छ।

‘कसैले पूजा, होम, हवन तथा दीप प्रज्वलनका लागि चिल्लो पदार्थ उत्पादन तथा बिक्री वितरण गरेमा लेबलको अग्र भागमा ‘खानाको लागि होइन’ भनी उल्लेख गरी कालो क्रस चिह्न स्पष्ट रूपमा ठूलो फन्टमा राख्नुपर्नेछ। साथै, सो पदार्थमा घिउ, बेकरी सर्टेनिङ वा वनस्पति घिउ जस्ता शब्द लेबलमा उल्लेख गर्न पाइने छैन’, सूचनामा भनिएको छ।

विभागले खाद्य तथा अखाद्य पदार्थबीच हुने मिसावट, गलत लेबलिङ र अखाद्य वस्तु खाद्य आपूर्ति शृङ्खलामा प्रवेश गर्ने जोखिम रोक्न यस्तो व्यवस्था गरिएको जनाएको छ।

यस्तै, निर्देशनविपरीत कार्य गरेको पाइएमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही हुने विभागले चेतावनी दिएको छ।

प्रकाशित: २६ आश्विन २०८३ १८:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App