१६ चैत्र २०८२ सोमबार
image/svg+xml
समाज

बैजनाथ मावि सङ्कटमा, पानी चुहिने भवनमा पढ्दै विद्यार्थी

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ कसरौलस्थित बैजनाथ माध्यमिक विद्यालयमा जीर्ण भवन, कक्षाकोठा अभाव र शैक्षिक स्रोतसाधनको कमिका बीच सञ्चालन हुँदै आएको छ।

विद्यालयका अधिकांश भवन जस्तापाताले बनेका र जीर्ण अवस्थामा रहेकाले वर्षायाममा पानी चुहिने समस्या हुँदा कक्षा सञ्चालनमा कठिनाइको सामाना गर्दै आएको छ। तीन दशक अघि स्थापना भएको यस विद्यालयले हालसम्म १२ वटा ब्याच कक्षा १२ उत्तीर्ण गराई निजामती सेवा, शिक्षण र सुरक्षा निकायजस्ता महत्त्वपूर्ण क्षेत्रमा पठाइसकेको छ। इतिहास बोकेको यो विद्यालय आज आफ्नै भवन र शिक्षक दरबन्दीका लागि सङ्घर्ष गरिरहेको छ।

विद्यालयको सबैभन्दा ठूलो चुनौती नै यसको भौतिक संरचना बनेको छ। विद्यालयमा रहेका १० वटा भवनका २६ कोठामध्ये हाल १८ वटा मात्रै कक्षा सञ्चालनका लागि प्रयोगमा छन्। ‘अधिकांश भवनका छाना जस्तापाताका छन्, वर्षातको समयमा पानी चुहिएर कक्षाकोठा भित्रै बस्न र पढाउन निकै अप्ठ्यारो हुन्छ,’ विद्यालयका प्रधानाध्यापक खेमराज अवस्थीले भने।

उनका अनुसार टीनको छानोमुक्त पक्की भवन दुई वटा मात्रै रहेका छन्। त्यसमा विद्यालयका पूरै विद्यार्थीलाई उचित रूपमा बसाल्नसमेत समस्या छ। पुराना भवन जीर्ण हुँदै जाँदा विद्यार्थीको सुरक्षामा जोखिम बढेको छ।

भौतिक पूर्वाधार मात्र नभइ विद्यालयमा माध्यमिक तहमा विद्यार्थीको अनुपातअनुसार ऐच्छिक विषयका शिक्षक दरबन्दी नहुनु अर्को ठूलो चुनौतीका रूपमा रहेको छ। विज्ञान र कम्प्युटर प्रयोगशाला व्यवस्थित नहुँदा र आवश्यक सामग्रीको अभावले विद्यार्थीको प्रयोगात्मक सिकाइ प्रभावकारी हुन सकेको छैन। ‘हामीले आधुनिक प्रविधिको प्रयोग गर्न सकेका छैनौँ, जसले गर्दा विद्यार्थीको सिकाइ उपलब्धि अपेक्षाकृत हुन सकेको छैन,’ प्रधानाध्यापक अवस्थीले थपे।

विद्यालयको स्वामित्वमा सात बिघाभन्दा बढी जग्गा रहे पनि यसको सुरक्षा पक्ष निकै कमजोर देखिएको छ। विद्यालय परिसर पूर्ण रूपमा घेराबार नहुँदा अवाञ्छित गतिविधि हुने गरेको र विद्यालयका सामग्री सुरक्षित राख्न कठिन भएको विद्यालयले जनाएको छ।

अझ दुःखद कुरा त, विद्यालयको दक्षिण र पश्चिम पट्टिको फिल्डबुक कायम जग्गा अतिक्रमणको चपेटामा परेको छ। यस अतिक्रमणलाई रोक्न सरोकारवालाको पटकपटक ध्यानाकर्षण गराउँदा पनि हालसम्म कुनै ठोस समाधान हुन नसकेको प्रधानाध्यापक अवस्थी बताउछन्।

विद्यालयले समयको मागअनुसार अङ्ग्रेजी माध्यमबाट अध्यापन गराउन र प्राविधिक विषयका लागि निजी स्रोतबाट शिक्षकहरू नियुक्त गरेको छ। केजी कक्षादेखि अंग्रेजी माध्यमका लागि र माध्यमिक तहमा अर्थशास्त्र तथा कम्प्युटर विषयका लागि शिक्षक राखिए पनि उनीहरूलाई समयमा तलब खुवाउन विद्यालयलाई आर्थिक अभाव रहेको छ। तीन बिघा जग्गा भाडामा दिएर आउने वार्षिक ६५ हजार रुपैयाँले यति धेरै खर्च धान्न असम्भव रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामशाह रानाले बताए।

उनका अनुसार विद्यालयमा हुने अन्य विभिन्न शैक्षिक कार्यक्रमको लागि समेत आर्थिक अभाव हुने भएकाले नियमित स्रोत व्यवस्थापनका लागि अभिभावकहरूसँग सहयोगको अपेक्षा राखेको छ। हाल यस विद्यालयमा ३४२ विद्यार्थी छन्। जसमा छात्रा १९५ र छात्र १४७ छन्। चुनौतीका बाबजुद विद्यालयले शैक्षिक गुणस्तर कायम राख्न प्रयास गरिरहेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष रानाले बताए।

गत वर्षको कक्षा ८ को परीक्षामा सहभागी ६४ मध्ये ५६ जना उत्तीर्ण भएका थिए भने एसइईमा ५४ मध्ये २६ र कक्षा १२ मा ४४ मध्ये ३४ जना सफल भएका थिए। यो विद्यालय यस क्षेत्रको पुरानो र प्रतिष्ठित शैक्षिक संस्थाका रूपमा रहेको छ।

रासस

प्रकाशित: १६ चैत्र २०८२ १३:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App