‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरु भएको बागमती सफाइ महाअभियान ६९०औँ हप्ता सम्पन्न भएको छ।
सफाइ महाअभियानको ६९०औँ हप्तामा गुह्येश्वरी फाँटस्थित वाग्मती नदी किनारमा सफाइ गरिएको हो।
सफाइबाट आधा टन नकुहिने फोहर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए। कुहिने फोहर भने नदी किनारमा गाड्ने गरिएको छ । सफाइ महाअभियानबाट उठाइएको नकुहिने फोहर काठमाडौँ महानगरपालिका वातावरण विभाग टेकुको समन्वयमा व्यवस्थापन गरिएको उनले बताए।
सफाइमा कामपा–११ का वडाध्यक्ष हीरालाल तन्डुकार, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका कर्मचारी, तिलगङ्गा महिला समूह एवं बागमती अभियानकर्मीहरूको सहभागिता थियो। सफाइका सहभागीले ५० थान विभिन्न जातका बिरुवा पनि वाग्मती नदी किनारमा रोपेका छन्।
सो अवसरमा गत वर्ष रोपिएका बिरुवाको गोडमेल पनि गरिएको थियो।
आगामी शनिबार ६९१औँ हप्ताको बागमती सफाइ पनि गुह्येश्वरी क्षेत्रकै बागमती किनारमा गरिने छ। अर्को हप्ता पनि वृक्षरोपण एवं गोडमेल कार्यक्रमलाई निरन्तरता दिइने सफाइ महाअभियानले जनाएको छ।
विसं २०७० जेठ ५ गतेदेखि बागमती सफाइ महाअभियान सुरु भएको हो। महाअभियान सुरु भएदेखि प्रत्येक हप्ता शनिबार निरन्तर हुँदै आएको छ। महाअभियान सुरु भएदेखि वर्षा, गर्मी, जाडो, चाडपर्व, भूकम्प, कोरोना महामारीलगायत प्रतिकुल अवस्थामा पनि निरन्तरता पाउँदै आएको छ।
बागमती सफाइ महाअभियान सुरु भएपछि यसका अधिकांश सहायक नदीमा पनि सफाइ अभियान सुरु भएको छ। यसैगरी राजधानीमा चक्रपथका विभिन्न खण्डमा पनि सफाइ अभियान जारी छ। राजधानीका विश्व सम्पदा क्षेत्रमा पनि सफाइ भइरहेको छ। विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्र, बौद्धनाथ क्षेत्र, स्वयम्भूनाथ क्षेत्रमा पनि सफाइ भइरहेको छ।
काठमाडौँ उपत्यका बाहिर मुख्य सहर र प्रमुख नदीमा पनि सफाइ भइरहेको छ। राजधानी बाहिरसमेत गरी हाल देशभर करिब १०८ भन्दा बढी स्थानमा सफाइ अभियान सञ्चालन भइरहेको छ। बागमती सफाइ महाअभियानको प्रेरणबाट देशभर सफाइ अभियान भइरहेको हो।
प्रकाशित: १६ श्रावण २०८३ १२:४७ शनिबार


-600x400.jpg)


