२६ कार्तिक २०८३ बिहीबार
image/svg+xml
समाज

गाडीमा सिट नपाएपछि बचेको अवधेशको जीवन, तर गुमे गर्भवती श्रीमती, तीन छोरी र दुई भाइ

छठ पर्व मनाउन काठमाडौं उपत्यकाबाट सर्लाहीको सुन्दरपुर फर्किने तयारीमा अवधेश यादवको परिवार बुधबार साँझदेखि नै जुटेको थियो । घरमा छठ पूजाका लागि आवश्यक सामग्रीदेखि लगाउने कपडासम्म सबै पोको पारेर तयार राखिएको थियो । श्रीमती, छोराछोरी र दुई भाइसहित आठ जनाको परिवार एकैसाथ गाउँ फर्किने तयारीमा थियो ।

राति खाना खाएर सुतेका अवधेशको निद्रा राति १ बजे खुल्यो । उनले श्रीमती पुनमलाई उठाए । राति साढे १ बजे गाडी छुट्ने सल्लाह थियो । पुनमले १० वर्षीया छोरी अनु, सात वर्षीया दीक्षा, पाँच वर्षीया दीपीका र १४ महिने छोरा सुदीपलाई उठाएर कपडा लगाइदिइन् । अवधेश र पुनम पनि तयार भए । उनका भाइहरू विकेश र सुवोध पनि घर जाने उत्साहका साथ निस्किए ।

सबै जना ललितपुरको टीकाथली चोक पुगे । सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरकै एउटै टोलका मानिस मिलेर गाडी रिजर्भ गरेका थिए । सबै सँगै घर पुग्ने योजना थियो ।

तर, त्यही यात्राका लागि गरिएको तयारीमा एउटा सानो अवरोध आयो, जसले अवधेशको जीवनको दिशा नै बदलिदियो ।

१४ सिट क्षमता भएको हाइसमा बालबालिकासहित २० जना चढिसकेका थिए । परिवारका सबै सदस्य गाडीमा बसेपछि अवधेशका लागि ठाउँ बाँकी रहेन । गाडीमा बस्ने सिट नपाएपछि उनले अर्को दिन एक्लै घर जाने निर्णय गरे ।

‘म अटिनँ, तिमीहरू जाँदै गर । म भोलि आउँछु,’ भन्दै उनले श्रीमती, छोराछोरी र भाइहरूलाई गाडीमा चढाएर आफू कोठातिर फर्किए ।

त्यतिबेला उनलाई लागेको थियो, परिवार गाउँ पुगेर छठको तयारीमा जुट्नेछ । आफूले एक दिन भए पनि व्यापार गरेर शुक्रबार साँझसम्म घर पुग्नेछु । काठमाडौंमा ठेलामा फलफूल बेचेर गुजारा चलाउँदै आएका अवधेशका लागि एक दिनको व्यापार पनि महत्वपूर्ण थियो ।

तर, उनलाई के थाहा, आफूले सिट नपाएर छुटेको त्यही गाडी उनका परिवारका सदस्यका लागि अन्तिम यात्रा बन्नेछ ।

कोठामा फर्किएपछि केहीबेर आराम गर्ने सोच बनाए । रातको समय भएकाले ओछ्यानमा पल्टिएपछि निदाइहाले । बिहान करिब ५ बजे ब्युँझिँदा उनको प्रतीक्षामा रहेको खबर सामान्य थिएन । परिवार चढेको हाइस मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीमा दुर्घटनामा परेको सूचना उनले पाए ।

त्यो खबरले अवधेशको संसार एकैपटक उजाडियो ।

‘गाडीमा म नअटाएपछि भोलितिर आउँछु, तिमीहरू जाँदै गर भनेर पठाएको थिएँ,’ बिहीबार साँझ हेटौंडा अस्पताल परिसरमा भेटिएका अवधेशले भावविह्वल हुँदै भने, ‘यस्तो हुन्छ भन्ने थाहा थियो भने म पनि बरु त्यही गाडीमा जसरी पनि आउँथेँ ।’

उनका लागि त्यो क्षण सम्झनु नै असह्य थियो । केही घण्टाअघि आफ्नै हातले बिदा गरेर पठाएका परिवारका सदस्य अब फर्केर नआउने खबर उनले पत्याउन सकिरहेका थिएनन् ।

अवधेशका अनुसार उनका २६ वर्षीय भाइ विकेश काठमाडौंमा बसेर सिभिल इन्जिनियरिङ पढिरहेका थिए । अर्का २४ वर्षीय भाइ सुवोध फलफूल व्यापार गर्थे । परिवारका सबै सदस्यसँगै छठ मनाउने उनीहरूको योजना थियो ।

तर, मकवानपुरको भीमफेदीमा भएको दुर्घटनाले अवधेशबाट श्रीमती पुनम, तीन छोरी अनु, दीक्षा र दीपीका तथा भाइहरू विकेश र सुवोधलाई खोस्यो । एउटै यात्रामा घर फर्किएका परिवारका छ जना सदस्यले ज्यान गुमाए ।

१४ महिने छोरा सुदीप भने दुर्घटनास्थलमा घाइते अवस्थामा फेला परे । प्रहरीले उनलाई उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पुर्‍याएको थियो । थप उपचारका लागि बिहीबार दिउँसो काठमाडौंको मेडिसिटी अस्पताल रिफर गरिएको छ । उनको उपचारमा अवधेशका आफन्त दिनेश यादवले सहयोग गरिरहेका छन् ।

हेटौंडा अस्पताल परिसरमा अवधेशका आफन्तहरू उनलाई सम्हाल्ने प्रयास गरिरहेका थिए । तर, उनको मनमा उठेको पीडाको आँधी कसैको सान्त्वनाले शान्त हुने अवस्था थिएन । उनी दुर्घटनामा ज्यान गुमाएका आफन्तको शव पर्खिरहेका थिए ।

आफू गाडीमा अटाउन नसकेको त्यो रात सम्झिँदै उनी पटकपटक भक्कानिन्थे । परिवारसँगै जान नपाएको घटनालाई संयोग मान्नुपर्ने अवस्था भए पनि आफू बाँचेकोमा उनलाई कुनै खुसी थिएन ।

कहिले आफू पनि त्यही गाडीमा गएको भए हुन्थ्यो भन्ने लाग्थ्यो, कहिले आफ्ना साना छोराछोरी र श्रीमतीको सम्झनाले मन छियाछिया हुन्थ्यो । अब कसरी जीवन अघि बढाउने भन्ने प्रश्नको उत्तर उनीसँग थिएन ।

छठ मनाउन घर फर्किने तयारीमा रहेको सुन्दरपुर गाउँका लागि यस वर्षको पर्व खुसीको अवसर रहेन । एउटै परिवारका सदस्य गुमाएका अवधेशका लागि त छठको रौनक, घर फर्किने उत्साह र पारिवारिक मिलनका सबै सपना एकै रातमा समाप्त भए ।

उनका आफन्त सवार मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको हाइस बिहीबार बिहान मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानी गढीमा सडकबाट खसेको थियो । दुर्घटनामा १४ जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।

अवधेशका लागि गाडीमा एउटा सिट नपाउनु संयोग बन्यो । त्यही संयोगले उनको ज्यान त जोगियो, तर जीवनका सबैभन्दा प्रिय छ जना आफन्त गुमे । अहिले उनीसँग बाँकी छ त केवल दुर्घटनाको खबर सुनेको त्यो बिहान, परिवारलाई बिदा गरेको अन्तिम क्षण र कहिल्यै पूरा नहुने पारिवारिक मिलनको प्रतीक्षा ।

प्रकाशित: २६ कार्तिक २०८३ २०:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App