अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, कलंकीका एक कर्मचारीलाई १३ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको छ।
जग्गाको हालसाविक गरी नयाँ पूर्जा बनाइदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरेको आरोपमा कार्यालय सहयोगी एकेन्द्र कुँवरलाई सोमबार कार्यालय परिसरबाटै नियन्त्रणमा लिइएको हो।
आयोगका अनुसार, चन्द्रागिरि नगरपालिका-१३ मा रहेको जग्गाको नयाँ पूर्जा बनाउने काममा सहजीकरण गरिदिने भन्दै कुँवरले सेवाग्राहीसँग १३ हजार रुपैयाँ घुस माग गरेका थिए।
सोही सूचना र उजुरीका आधारमा आयोगको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले उनलाई घुसबापत लिएको रकमसहित पक्राउ गरेको हो।
अनुसन्धानका क्रममा अख्तियारको टोलीले कार्यालय प्रमुखको दुई थान र सोही कार्यालयका एक सर्भेक्षकको एक थान मोबाइल डिभाइस पनि नियन्त्रणमा लिएको छ।
पक्राउ परेका कुँवरमाथि थप अनुसन्धान भइरहेको र अनुसन्धान पूरा भएपछि विशेष अदालतमा मुद्दा दायर गरिने आयोगले जनाएको छ।
प्रकाशित: २६ श्रावण २०८२ २०:१० सोमबार





