बैतडीमा धारिलो हतियार प्रहार गरी एकजनाको हत्या गरिएको छ। जिल्लाको सिगास गाउँपालिका–२ पिणेगोदाका ३० वर्षीय यज्ञसिंह धामीले अन्दाजी ३४ वर्षीय बेलमती धामीको बञ्चरो प्रहार गरी हत्या गरेका हुन्।
आइतबार राति ११ बजेतिर घरमा सुतिरहेको अवस्थामा नै घाँटीमा बञ्चरो प्रहार गरी बेलमतीको हत्या गरेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी बलराम पाण्डेयले बताए। “मृतक बेलमती यज्ञकी आफ्नै काकी हुन्, उनको घाँटी र मुखमा बञ्चरो प्रहार गरिएको छ”, उनले भने, “घटना के कति कारणले भएको हो अनुसन्धान भइरहेको छ।”
हत्या गर्ने यज्ञसिंह हुलाकका अतिरिक्त कर्मचारी हुन्। कैलालीमा रहेका उनी यही भदौ १९ गते मात्रै घर आएका आफन्त जयसिंह धामीले बताए। चार दिनअघि मात्रै घर आएका उनले आफ्नै आमालाई समेत कुटपिट गरेको आफन्तले बताएका छन्।
“चार दिन पहिले मात्रै घर आएका थिए, आएकै दिन आफ्नै आमालाई समेत हातपात गरेका हुन्, हिजो त आफ्नै काकीलाई बञ्चरोले घाँटीमा हिर्काएर घरभित्रै मारिदिए”, जयसिंहले भने। मृतकका श्रीमानकाे यसअघि मृत्यु भएको थियो। बेलमतीका चार छोरी र एक छोरा छन्। शवपरीक्षणका लागि जिल्ला अस्पताल लगिएको छ। हत्या गर्ने यज्ञलाई गएराति नै प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रकाशित: २३ भाद्र २०८२ १२:४८ सोमबार





