२१ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

इन्धनमा लगाइएकाे कर पुनरावलोकन गर्न आसिका तामाङको माग

सांसद आसिका तामाङले इन्धनमा लगाएको कर पुनरावलोकन गर्न सरकारसँग माग गरेकी छन्। 

महँगीले दैनिक जीवन प्रभावित भएको बेला इन्धन मूल्य वृद्धिले यातायात, खाद्यान्न र आधारभूत खर्चमा प्रत्यक्ष असर पारेको भन्दै उनले इन्धनमा लगाएको कर पुनरावलोकन गर्न सरकारसँग माग गरेकी हुन्। 

हाल विश्वव्यापी ऊर्जा संकटका कारण इन्धनको मूल्य बढिरहेको भन्दै उनले यस परिस्थितिमा धेरै देशहरूले आफ्ना नागरिकलाई राहत दिन कर कटौतीका स्पष्ट कदम चालेको बताइन्। अस्ट्रेलिया, भारत, इटाली, स्पेन र भियतनामजस्ता राष्ट्रहरूले इन्धनमा लगाइएका करहरू घटाएर जनताको बोझ कम गरेको उनकाे भनाइ छ।

'राजस्व संकलन राज्यको आवश्यकता हो, तर नागरिकको जीवन सहज बनाउनु उत्तिकै महत्वपूर्ण दायित्व हो। यही सन्तुलन कायम गर्नु अहिलेको मुख्य आवश्यकता हो। त्यसैले इन्धनमा लगाइएका करहरूको पुनरावलोकन गरी यथासम्भव घटाइयोस्। मूल्यवृद्धि नियन्त्रणका लागि प्रभावकारी कदम चालियोस्। समयमै उचित निर्णय लिइएमा जनतामा राहतको अनुभूति हुने विश्वास लिइएको छु।,' उनले सामाजिक संजालमा लेखेकी छन्।

प्रकाशित: २१ चैत्र २०८२ १९:५० शनिबार