प्रदर्शनकारीहरूले आज (मंगलबार) दिनभर रुपन्देहीमा विभिन्न नगरपालिका, काँग्रेस, र एमाले नेताका घर, वडा कार्यालयहरू, नेताको लगानी रहेका भनिएका होटल, तथा व्यापारिक प्रतिष्ठानहरूमा आगजनी तथा तोडफोड गरी क्षति पुर्याएका छन्।
प्रदर्शनकारीहरूले आज साँझपख भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा समेत केही बेर ढुंगामुढा गरी केही सरकारी गाडीहरूमा आगो लगाइदिएका छन्।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लगायतका मन्त्री तथा नेताहरू काठमाडौंबाट भैरहवा विमानस्थलमा आउन लागेको भन्ने हल्ला सामाजिक सञ्जालमा फैलिएपछि झण्डै एक हजारको संख्यामा प्रदर्शनकारीहरू भैरहवा विमानस्थल पुगेका थिए।
विमानस्थल स्रोतका अनुसार उनीहरूले विमानस्थल भित्रै पसेर कुनाकाप्चामा समेत खोजतलास गरेको र केही बेर नाराबाजी गर्दै धर्ना दिएका थिए। केही बेर त्यहाँको स्थिति तनावग्रस्त बनेको थियो।
प्रदर्शनकारीले विमानस्थलको पार्किङमा राखिएका केही सरकारी गाडी तथा मोटरसाइकलमा आगो लगाइदिएका छन्। उनीहरूले हानेको ढुंगाले पुरानो टर्मिनल भवनतर्फ सामान्य क्षति पुगेको छ।
तर प्रदर्शनकारीहरूले विमानस्थलको भौतिक संरचनामा भने आगजनी नगरेको विमानस्थल स्रोतले बताएको छ।
त्यस्तै प्रदर्शनकारीहरूले बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर नगरपालिका र देवदह नगरपालिकामा पनि आगो लगाइदिएका छन्। सैनामैना नगरपालिकाका केही वडा कार्यालय, इलाका प्रशासन कार्यालय बुटवल, आन्तरिक राजस्व कार्यालय र जिल्ला सरकारी वकिलको कार्यालय भैरहवामा पनि आगजनी गरी क्षति पुर्याएका छन्। बुटवल स्थित बुटवल उपमहानगरपालिकाको कार्यालयमा ठूलो संख्यामा पुगेका प्रदर्शनकारीहरूले दिउँसो नगरपालिका भवनमा ढुंगामुढा गर्नुका साथै आगजनी गरेका थिए।
प्रदर्शनकारीहरूले सैनामैना नगरपालिकाका प्रमुख फणिन्द्र शर्मा, एमालेका संघीय सांसद बाशुदेव घिमिरे, एमालेका लुम्बिनी प्रदेश सभा सदस्य भुमिस्वर ढकालको घरमा पनि आगजनी तथा तोडफोड गरेका छन्।
आजै (मंगलबार) बुटवलमा रहेको भाटभटेनी, बुटवलकै होटल ड्रिम इन्टरनेशनल, मणिग्राममा रहेको टुलिप होटलमा पनि आगजनी तथा तोडफोड गरेका छन्। बुटवलको ड्रिम इन्टरनेशनलमा एमाले नेता विष्णु पौडेलको र टुलिपमा एमाले सांसद बाशुदेव घिमिरेको लगानी रहेको भन्दै प्रदर्शनकारीहरूले आगजनी र तोडफोड गरेका थिए।
त्यसअघि बुटवलको सुख्खानगरमा रहेको नेकपा एमालेको लुम्बिनी प्रदेश कार्यालयमा प्रदर्शनकारीले आगजनी तथा तोडफोड गरी क्षति पुर्याएका छन्। भैरहवामा रहेको नेपाली काँग्रेसको पार्टी कार्यालय, काँग्रेसको बुटवल नगर समितिको भवन र बुटवलमा रहेको नेकपा माओवादीको पार्टी कार्यालय र जनमोर्चाको पार्टी कार्यालयमा पनि तोडफोड तथा आगजनी गरी क्षति पुर्याएका छन्।
जिल्ला प्रशासनले मंगलबार बिहानैदेखि निषेधाज्ञा जारी गरेको थियो। तर प्रदर्शनकारीहरूले निषेधाज्ञाको अवज्ञा गर्दै बिहानैदेखि बुटवल, भैरहवा, मणिग्राम, सालझण्डी, धकधई लगायतका दर्जन बढी स्थानमा प्रदर्शन गरेका थिए।
सोमबारको आन्दोलनमा शान्तिपूर्ण प्रदर्शन गरेका प्रदर्शनकारीहरू मंगलबार भने उग्र र हिंस्रक हुँदै तोडफोड र आगजनीमा उत्रिएका देखिन्थे।
प्रकाशित: २४ भाद्र २०८२ २१:५२ मंगलबार





