नेपाली सेनाले तत्काल लुटपाट, आगजनी लगायतका कार्य रोक्न आग्रह गरेको छ।
सेनाले विषम परिस्थितिको फाइदा उठाउँदै भइरहेका लुटपाट, आगजनी र सार्वजनिक सम्पत्ति तोडफोडजस्ता अराजक गतिविधि तत्काल नरोकिए आज (भाद्र २४ गते) राति १० बजेबाट सेनासहित सम्पूर्ण सुरक्षा निकाय तैनाथ हुने जनाएको छ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै स्थितिलाई नियन्त्रणमा लिन अन्तिम तयारी गरेको संकेत दिएको हो।
‘हालको विषम परिस्थितिको अनुचित फाइदा उठाई केही समूहहरुले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्ति समेतमा अत्यधिक क्षति पुऱ्याउने, लुटपाट एवम् आगजनी गर्ने कार्य भइरहेको हुँदा यस किसिमका गतिविधिहरु नगर्न/नगराउन नेपाली सेना पुनः आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।
सेनाले यदि यस्ता गतिविधिहरु नरोकिएमा नेपाल र नेपालीको सुरक्षाका लागि आफ्नो प्रमुख जिम्मेवारी पूरा गर्न दृढ रहेको स्पष्ट पारेको छ। ‘यस किसिमका गतिविधिहरु नरोकिएको खण्डमा नेपाली सेना लगायत सम्पूर्ण सुरक्षा निकायहरु आफ्नो प्रमुख जिम्मेवारी नेपाल र नेपालीको सुरक्षाको लागि स्थिति नियन्त्रण गर्न मिति २०८२ भाद्र २४ गते रातीको १० बजेबाट दृढ रहने प्रतिबद्धता जानकारी गराउँदछौं,’ सेनाले चेतावनी दिएको छ।
सेनाले स्थितिलाई नियन्त्रणमा लिने क्रममा सम्पूर्ण राष्ट्रवासीलाई सहयोगका लागि हार्दिक अपिल समेत गरेको छ। राति १० बजेपछिको अवस्थाको पुनर्मूल्याङ्कन गरी थप सूचना जारी गरिने पनि विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित: २४ भाद्र २०८२ २१:३३ मंगलबार





