२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

सेनापति चीन जाने, संयुक्त सैन्य अभ्यास नेपालमा हुने

नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल चीन भ्रमणमा जाने भएकका छन्।

सेप्टेम्बरको दोस्रो साता उनी चीन भ्रमणमा जान लागेका हुन्। प्रधानसेनापति नियुक्त भएपछि उनी पहिलोपटक चीन भ्रमण गर्न लागेको सैन्य स्रोतले जानकारी दिएको छ।

उनी ११ औं बेइजिङ सियाङशान फोरममा सहभागी हुनेछन्। भ्रमण स्वीकृतिका लागि रक्षा मन्त्रालयमा पत्रचार गरिएको छ। अहिले उनी थाइल्याण्ड भ्रमणमा रहेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणपछि प्रधानसेनापति चीन लागेका हुन्।

प्रधानसेनापतिले चीनमा रक्षामन्त्रीसहित उच्च सैन्य अधिकारीहरूसंग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। नेपाली सेनाका प्रवक्ता सहायक रथि राजाराम बस्नेतले यो विषय अहिले जानकारी आइनसकेको बताए। ‘प्रधानसेनापतिज्यूको चीन भ्रमणबारे अहिले मलाई जानकारी आइसकेको छैन’, प्रवक्ता बस्नेतले भने।

सेप्टेम्बर १७ देखि सुरु हुने सियाङशान फोरम सेप्टेम्बर १९ मा समापन हुनेछ। फोरममा प्रधानसेनापति सिग्देलले सम्बोधन गर्ने कार्यक्रम समेत रहेको सैनिक स्रोतको दावी छ।

हरेक वर्ष बेइजिङमा आयोजना हुने यस फोरममा एसिया–प्रशान्त क्षेत्रका सेनाप्रमुख, रक्षा मन्त्री र सुरक्षा विशेषज्ञहरूको सहभागिता हुने गर्दछ। सुरक्षा संवाद, सैन्य साझेदारी र बहुपक्षीय सहयोगबारे छलफल हुने यो फोरम चीनले २००६ देखि सांग्रिला संवादको विकल्पका रूपमा अघि बढाउंदै आएको छ।

यसअघि, मंसिर २६ मा प्रधानसेनापति सिग्देल भारत भ्रमणमा नयाँ दिल्ली पुगेका थिए। सिग्देल २०८१ साल भदौ २४ गते नेपाली सेनाको प्रधानसेनापति नियुक्त भएका हुन्।

सोही वर्ष चीनले उनलाई भ्रमणका लागि निमन्त्रणा गरेको थियो। यद्यपि उनको भ्रमण अहिलेमात्र हुन लागेको सैनिक मूख्यालय स्रोतले जनाएको छ।

उनी चीन भ्रमण जानुअघि नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको संयुक्त सैन्य अभ्यासको पाँचौं संस्करण भदौ तेस्रो साताबाट हुने भएको छ। सैन्य अभ्यासको पाँचौं संस्करण नेपालमा हुने टुंगो लागेको हो।

सैन्य अभ्यास प्रतिआतंकवाद, युद्धकला, विपद् व्यवस्थापनलगायत विषयमा केन्द्रित बताइएको छ। ‘सगरमाथा फ्रेन्डसीप’ नाम दिइएको नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको संयुक्त सैन्य अभ्यास गत वर्ष चीनको सिचुवान प्रान्तको छेन्दु सहर छोङछिङमा भएको थियो।

नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाका अधिकारीहरूबीच पाँचौं संस्करणको सैन्य अभ्यासको तयारीबारे भइरहेको छ। यो सैन्य अभ्यास १० दिनसम्म चल्नेछ।

स्रोतका अनुसार  नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाले भदौ २१ देखि संयुक्त सैन्य अभ्यास गर्नेछन्। नेपाली सेनाले भारत, अमेरिका, चीनसँग संयुक्त सैन्य अभ्यास गर्दै आएको छ।

नेपाली सेनाका प्रवक्ता सहायक रथि बस्नेतले चीनसँग सैन्य अभ्यास हुन लागेको बताए। ‘सगरमाथा फ्रेन्डसीप’ नामबाट हरेक वर्ष हुने सैन्य अभ्यास यसअघि चीनमा भएको थियो, अहिले नेपालमा हुन लागेको हो। सैन्य अभ्यासबाट क्षमता अभिवृद्धि र अनुभव आदान–प्रदान हुनेछ’, सहायक रथि बस्नेतले भने।

प्रकाशित: ९ भाद्र २०८२ १७:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App