१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

तस्करसँग सशस्त्र प्रहरीले यसरी लिए घुस

रौतहटमा भएको तस्करीको ‘चिनीकाण्ड’ बारे सशस्त्र प्रहरी मुख्यालयले छानबिन गरिरहेकै बेला छिमेकी जिल्ला सर्लाहीमा सशस्त्र प्रहरीका कर्मचारीले तस्करसँग घुस लिएको भिडियो सार्वजनिक भएको छ।

सशस्त्र प्रहरी बलको सखुअवा बोर्डर आउट पोस्ट (बीओपी) मा कार्यरत सई र हवल्दारले भारतीय तस्करसँग ‘सेटिङ’ मिलाउँदै नगद रकम लिएको दृश्य भिडियोमा कैद भएको हो।

गत भदौ ८ गते मध्यरातमा खिचिएको उक्त भिडियोमा बीओपी सखुअवाका प्रमुख सई लेखराज विष्ट र घुमुवाका रूपमा कार्यरत हवल्दार सुमन चौधरीले भारतीय तस्करसँग २२ हजार रुपैयाँ लिएको देखिन्छ।

तस्कर समूह आफैंले खिचेर सार्वजनिक गरेको भिडियोमा भारतीय सीमा क्षेत्रमा बोलाएर प्रहरी कर्मचारीले सेटिङ मिलाउँदै पैसाको बिटो हातमा लिएर गनेको स्पष्ट देखिन्छ।

घटनाले सीमा सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरी बलभित्रको सुशासनमाथि गम्भीर प्रश्न खडा गरेको छ।

सीमा क्षेत्रमा रातिको समयमा नेपालबाट काठ, चाइनिज मोटर, स्याउ र मदिरा तथा भारतबाट कपडा, स्पेयर पार्ट्स र दैनिक उपभोग्य वस्तुहरूको संगठित तस्करी हुने गरेको स्थानीयको आरोप छ।

स्थानीयका अनुसार, सशस्त्र प्रहरीले दिउँसो घरायसी प्रयोजनका लागि सामान ल्याउने सर्वसाधारणलाई दुःख दिने तर राति ११ बजेदेखि ३ बजेसम्म तस्करहरूलाई नै संरक्षण दिने गरेको गुनासो बढ्दो छ।

भिडियो सार्वजनिक भएपछि सशस्त्र प्रहरी १० नम्बर गण सर्लाहीका प्रमुख एसपी देवबहादुर चन्दले दुवै जनालाई गणमा तानेर अनुसन्धान सुरु गरिएको बताएका छन्।

उनले घटनाको छानबिनका लागि तत्काल एक टोली गठन गरिएको र दोषी पाइए कारबाही हुने जानकारी दिए। त्यसैगरी, सशस्त्र प्रहरी बल टावर गुल्म मलंगवाका प्रमुख डीएसपी सुमन ढुंगानाले पनि घटनाबारे छानबिन भइरहेको बताएका छन्।

हेर्नुहोस् भिडियो :

प्रकाशित: ११ भाद्र २०८२ २०:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App