सशस्त्र प्रहरी बलका सहायक निरीक्षक शक्ति राम र एक युवती काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा मृत अवस्थामा फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार पाँचखाल नगरपालिका–३ स्थित ठूली सामुदायिक वनमा बुधबार बिहान उनीहरू दुवै जना झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्।
मृतक शक्ति राम सशस्त्र प्रहरी बल नेपाल नम्बर १५ गण काभ्रेपलाञ्चोकमा कार्यरत सहायक निरीक्षक थिए। पर्साको बहुदरमाई नगरपालिका–८ रामनगरी घर भएका उनले वैशाख १९ गते दुई दिनको बिदा लिएर गणबाट बाहिरिएका थिए। त्यसपछि उनी सम्पर्कविहीन बनेका थिए।
यस्तै, मृत फेला परेकी महिला कैलालीको घोडाघोडी नगरपालिका–१ निवासी २६ वर्षीया शर्मिला चौधरी रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार चौधरी वैशाख १८ गते शक्ति रामलाई भेट्न काभ्रे आएकी थिइन्।
सम्पर्कविहीन भएपछि शक्ति रामका परिवारले खोजतलासका लागि निवेदन दिएका थिए। उक्त निवेदन सशस्त्र प्रहरीले वैशाख २१ गते जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा पठाएको थियो। त्यस्तै शर्मिला चौधरीका भाइ रञ्जित चौधरीले वैशाख २५ गते प्रहरी वृत्त बालाजुमा खोजतलासका लागि निवेदन दिएका थिए।
प्रहरीका अनुसार दुवै जनाको मोबाइल फोनमा सम्पर्क हुन सकेको थिएन। खोजीका क्रममा शर्मिला चौधरीको मोबाइलको अन्तिम लोकेसन काभ्रेपलाञ्चोक क्षेत्रमा देखिएको थियो।
बुधबार स्थानीयवासीले सामुदायिक वनभित्र दुई वटा मौवा रुखमा महिला र पुरुषको जस्तो देखिने सडेगलेका कंकाल झुण्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए। दुवै जनाको शव परीक्षणका लागि धुलिखेल अस्पतालमा राखिएको छ।
प्रकाशित: २० जेष्ठ २०८३ १८:२६ बुधबार





