सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले सीमा सुरक्षामा कुनै पनि प्रकारको सम्झौता वा कमीकमजोरी हुन नदिन मातहतका कमान्डर तथा सुरक्षाकर्मीहरूलाई निर्देशन दिएका छन्।
सशस्त्र प्रहरी बल, नेपाल नं ३४ गण धनगढीमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारको स्प्रिट र नीतिअनुसार पूर्ण व्यावसायिकताका साथ कार्यसम्पादन गर्न निर्देशन दिएका हुन्।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश कार्यालय प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक दिगविजय सुवेदी, प्रदेशअन्तर्गतका नौवटै जिल्लाका कार्यालय प्रमुख तथा कैलाली-कञ्चनपुरका सीमा सुरक्षा गुल्म, बिओपी र बेस प्रमुखहरूको उपस्थिति रहेको थियो।
महानिरीक्षक पौडेलले नागरिकस्तरबाट कुनै गुनासो नआउने गरी आर्थिक सुशासन, भ्रष्टाचारमा शून्य सहनशीलता, मानवअधिकार संरक्षण र सीमा क्षेत्रबाट हुने अवैध चोरी-पैठारी तथा तस्करी नियन्त्रणमा सशक्त रूपमा प्रस्तुत हुन मातहतलाई सचेत गराए।
पछिल्लो समय युवा पुस्तामा बढ्दो लागुऔषधको कुलतले सामाजिक अपराध बढाएको उल्लेख गर्दै उनले सीमानाकाबाट हुने लागुऔषध ओसारपसार नियन्त्रणमा उच्च सतर्कता अपनाउन निर्देशन दिए।
सीमा सुरक्षालाई समयसापेक्ष र प्रभावकारी बनाउन क्रमशः डिजिटल निगरानी प्रणालीमा लैजाने तयारी भइरहेको जानकारी दिँदै उनले आचारसंहिता उल्लंघन गर्ने कर्मचारीलाई कारबाही गरिने चेतावनी दिए।
साथै, मनसुनी विपद्को सम्भावित जोखिम न्यूनीकरणका लागि २४ सै घण्टा आवश्यक उद्धार सामग्रीसहित नागरिकको सेवामा तयारी अवस्थामा रहन उनले निर्देशन दिएका छन्।
यसअघि महानिरीक्षक पौडेलले कैलालीको रणनीतिक गौरीफन्टा नाका, सशस्त्र प्रहरी बल वैद्यनाथ वाहिनी मुख्यालय अत्तरिया तथा विभिन्न सीमा सुरक्षा गुल्म र पोष्टहरूको स्थलगत निरीक्षण गरेका थिए।
सो क्रममा उनले कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलगायत जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूसँग समग्र सुरक्षा अवस्थाबारे छलफल गर्नुका साथै सीमाक्षेत्रमा सक्रिय सरोकारवाला निकायका प्रतिनिधिहरूसँग अन्तरक्रिया गरेको ३४ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक खुमबहादुर केसीले जानकारी दिए।
प्रकाशित: ९ भाद्र २०८३ २०:१९ मंगलबार





