ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकास्थित तेल्लोकमा इलाका प्रशासन कार्यालय स्थापना हुने निश्चित भएको छ । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा पौडेलले तेल्लोकमा इलाका प्रशासन कार्यालय स्थापना हुने निश्चित भएपनि उक्त कार्यालयमा रहने दरबन्दीसहितको सांगठनिक संरचना कस्तो रहने भन्ने चाहिँ निर्क्योल नभएको जानकारी दिए ।
इलाका प्रशासन कार्यालय स्थापनाको विषय अघि सरेपछि गत वैशाख तेस्रो साता प्रमुख जिल्ला अधिकारी शर्मा र जिल्ला प्रहरी प्रमुख (डिएसपी) वेदप्रसाद गौतमसहितका सुरक्षा अधिकारी तेल्लोक पुगी स्थलगत अध्ययन र सरोकारवालाको रायसमेत लिएका थिए । स्थलगत अनुगमनमा गएको टोलीले इलाका प्रशासन कार्यालयका लागि आवश्यक पर्ने भवनसमेतको निरीक्षण गरेको थियो । प्रमुख जिल्ला अधिकारी शर्माले तेल्लोकमा इलाका प्रशासन कार्यालय स्थापना भएपछि सो क्षेत्रका सिरिजङ्गा र सिदिङ्वा गाउँपालिकाका सेवाग्राहीलाई नागरिकतासहितका सेवा तेल्लोकबाटै हुने जानकारी दिए ।
सिरिजङ्गा र सिदिङ्वाबाहेक सुरुमा पाथीभरा याङवरक गाउँपालिकाको सिरिजङ्गा सीमा क्षेत्रका नागरिकलाईसमेत सेवा प्रवाह हुने भनिएकोमा उक्त पालिकाको क्षेत्र भने निर्क्योल हुन बाँकी रहेको प्रशासन कार्यालयले जनाएको छ । सुरुमा पाथीभरा याङवरकका थुम्बेदिन, चाक्सिबोटे र डुम्रिसेका नागरिकलेसमेत तेल्लोकमा इलाका प्रशासन कार्यालय स्थापना भए उतैबाट सेवा लिन सक्ने सम्भावित सूचीमा राखी सम्बन्धित पालिकासँगसमेत समन्वय भएको तर तेल्लोकबाटै सेवा लिने नलिने बारे भने टुङ्गोमा पुगिनसकिएको प्रजिअ शर्माले बताए । अहिले ताप्लेजुङका तेल्लोक र दोभानमा इलाका प्रहरी चौकी तथा तेल्लोक र मैवाखोलाको ढुङ्गेसाँघुमा प्राथमिक स्वास्थ्य केन्द्र रहेका छन् ।
प्रकाशित: ७ भाद्र २०८२ १४:१४ शनिबार





