३१ भाद्र २०८३ बुधबार
image/svg+xml
समाज

आमा गाउँपालिकाकी उपाध्यक्ष : छोराको खातामा पुग्थ्यो घुसको पैसा, विशेषमा आरोपपत्र दायर

फाइल तस्बिर

सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अन्जु नाछिरिङ राई र उनका छोरा सुनिल नाछिरिङ राईविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार आर्थिक वर्ष २०८०/८१ मा गाउँपालिकामा सञ्चालन भएको ९० कार्य दिनको ढाका सिलाइ-बुनाइ तालिममा प्रशिक्षकको काम दिलाएबापत अन्जुले ४५ हजार रुपैयाँ घुस मागेको आरोप छ। उक्त रकम छोरा सुनिलको बैंक खाताको क्यूआर कोडमार्फत जम्मा गर्न लगाएको अख्तियारको दाबी छ।

अनुसन्धानका क्रममा अन्जुले आफ्नो पदको जिम्मेवारी प्रयोग गरी तालिममा प्रशिक्षकको काम दिलाउन र सहजीकरण गरेबापत सुनिलसँगको मिलेमतोमा घुस लिएको अख्तियारले जनाएको छ। आयोगले अन्जुविरुद्ध ४५ हजार रुपैयाँ बिगो कायम गरी कैद र बिगो बराबर जरिवानाको मागदाबी गरेको छ।

त्यस्तै, सुनिलले पनि आमासँगको मिलेमतोमा सेवाग्राहीबाट ४५ हजार रुपैयाँ घुस लिई अन्जुको निम्ति उपलब्ध गराएको आरोपमा उनीविरुद्ध पनि सोही बिगो बराबर कैद र जरिवानाको मागदाबी गरिएको अख्तियारले जनाएको छ।

आयोगले दुवैविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।

प्रकाशित: ३१ भाद्र २०८३ १३:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App