२ श्रावण २०८३ शनिबार
image/svg+xml
समाज

विश्व शान्तिको सन्देश फैलाउँदै नेपाल आइपुग्यो ‘अलोका’ कुकुर

विश्वभर शान्ति, नैतिकता र आन्तरिक सचेतनाको सन्देश फैलाउने उद्देश्यसहित हजारौँ माइल पैदल यात्रा गरिरहेको भियतनामी बौद्ध भिक्षु टोली सोमबार नेपाल आइपुगेको छ। टोलीसँगै अन्तर्राष्ट्रिय शान्ति दूतका रूपमा चिनिएको ‘अलोका’ नामक कुकुरको उपस्थितिले काठमाडौंमा विशेष चासो र आकर्षण थपेको छ।

भियतनामी बौद्ध भिक्षु भन्ते पन्ना कारा को नेतृत्वमा रहेको टोलीले विश्वका विभिन्न मुलुकमा पैदल यात्रा गर्दै युद्ध, हिंसा र विभाजनले प्रभावित समाजमा शान्ति र मानवीय सहअस्तित्वको सन्देश फैलाउँदै आएको जनाएको छ।

टोलीले भारतमा करिब ३४ सय किलोमिटर तथा अमेरिकामा टेक्ससदेखि वासिङ्टनसम्म झन्डै ३७ सय किलोमिटर दूरी खाली खुट्टा पार गर्दै शान्ति पदयात्रा सम्पन्न गरिसकेको छ। उनीहरूको यात्राले केवल भौगोलिक दूरी मात्र पार गरेको छैन, मानिसलाई ध्यान, करुणा र आत्मचेतनातर्फ उन्मुख गराउने अभियानको स्वरूप पनि लिएको छ।

टोलीसँगै रहेको ‘अलोका’ कुकुरलाई शान्ति र सहअस्तित्वको प्रतीकका रूपमा प्रस्तुत गरिएको छ। विभिन्न देशको यात्रामा सहभागी हुँदै आएको अलोकाले मानिस र प्रकृतिबीचको सम्बन्ध तथा जीवप्रतिको करुणाको सन्देशलाई अझ प्रभावकारी रूपमा अभिव्यक्त गरेको टोलीको विश्वास छ।

काठमाडौं बसाइका क्रममा टोलीले बौद्धनाथ स्तूप, स्वयम्भूनाथ स्तूप लगायतका बौद्ध तीर्थस्थलको दर्शन गर्ने तथा रामचन्द्र पौडेल सँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको बताइएको छ।

भन्ते पन्ना काराले बुद्धका शिक्षा, ध्यान र करुणाको अभ्यासमार्फत मानिसले शान्ति बाहिर होइन, आफ्नै अन्तरमनमा खोज्न सक्ने धारणा व्यक्त गर्दै नेपालबाट पनि विश्व शान्तिको सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्य रहेको बताएका छन्।

नेपाल बुद्धको जन्मभूमि भएकाले यहाँबाट उठ्ने शान्तिको आवाज विश्व समुदायका लागि अझ अर्थपूर्ण बन्न सक्ने अपेक्षासमेत टोलीले व्यक्त गरेको छ।

प्रकाशित: १ असार २०८३ १६:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App