२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
समाज

कीर्तिपुर होल्डिङ सेन्टरमा अभियन्तामाथि दमन भएको आरोप, छानबिन र रिहाइको माग

नेपाल महिला एकता समाजले कीर्तिपुर होल्डिङ सेन्टरमा भूमिहीन सुकुम्बासीहरूको अवस्था बुझ्न पुगेका मानवअधिकारकर्मी तथा अभियन्तामाथि प्रहरीले कुटपिट, बल प्रयोग र पक्राउ गरेको भन्दै त्यसको भर्त्सना गरेको छ।

शनिबार जारी प्रेस विज्ञप्तिमा समाजले कीर्तिपुरस्थित अस्थायी होल्डिङ सेन्टरमा बाढी प्रभावित भूमिहीन सुकुम्बासीहरूको अवस्था बुझ्न, मानवीय सहायता तथा सहकार्यका लागि पुगेका अभियन्ता माजिद अन्सारी, सरिस्मा थापा र नेल्शन घतानीमाथि प्रहरीले गरेको व्यवहार लोकतान्त्रिक मूल्य, विधिको शासन र मानवअधिकारको सिद्धान्तविपरीत भएको जनाएको छ।

समाजका अनुसार सरकारले वैशाख १२ गतेदेखि काठमाडौंका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई पर्याप्त पूर्वतयारी, दिगो विकल्प र व्यवस्थापनबिना हटाएर अस्थायी होल्डिङ सेन्टरमा राखेको थियो। त्यसपछि लगातारको वर्षाका कारण प्रभावित भएका परिवारहरूको अवस्था बुझ्न पुगेका अभियन्तामाथि दमन गरिएको आरोप लगाइएको छ।

विज्ञप्तिमा नेपालको संविधानले सुनिश्चित गरेको शान्तिपूर्ण रूपमा भेला हुने, विचार अभिव्यक्त गर्ने तथा मानवअधिकारको संरक्षण र प्रवर्द्धन गर्ने मौलिक अधिकारको प्रयोग गरिरहेका नागरिकमाथि राज्य संयन्त्रबाट बल प्रयोग हुनु अस्वीकार्य भएको उल्लेख गरिएको छ।

नेपाल महिला एकता समाजले घटनाको स्वतन्त्र, निष्पक्ष र तत्काल छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न, पक्राउ परेका सबै मानवअधिकार रक्षक तथा नागरिकलाई बिनाशर्त तत्काल रिहा गर्न माग गरेको छ।

त्यस्तै, कीर्तिपुर होल्डिङ सेन्टरमा रहेका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको उचित र दिगो व्यवस्थापन गर्न तथा जबर्जस्ती उठीबास, दमन र अस्थायी राहतमा सीमित हुने अभ्यास अन्त्य गरी अधिकारमा आधारित स्थायी समाधानका लागि संवाद अघि बढाउन पनि सरकारसँग आग्रह गरिएको छ।

समाजले राष्ट्रिय मानवअधिकार आयोग, नागरिक समाज, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकार संगठन, सञ्चारमाध्यम तथा सरोकारवालालाई घटनाको स्वतन्त्र अनुगमन गर्न, प्रभावित समुदायसँग ऐक्यबद्धता जनाउन र राज्यलाई मानवअधिकारसम्बन्धी दायित्व पूरा गराउन पहल गर्न अनुरोध गरेको छ।

प्रकाशित: २८ असार २०८३ ०९:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App