१ आश्विन २०८३ बिहीबार
image/svg+xml
समाज

बाढी प्रभावित क्षेत्रका ५ जिल्लामा भारी वर्षाको सम्भावना

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढी प्रभावित क्षेत्रलक्षित विशेष मौसम बुलेटिन जारी गर्दै आगामी तीन दिन मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

प्राधिकरणले रसुवा, धादिङ, नुवाकोट, गोरखा र चितवनका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन र मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहन आग्रह गरेको छ।

प्राधिकरणद्वारा बुधबार साँझ ५:३० बजे जारी विशेष मौसम बुलेटिन अनुसार बुधबार रातिदेखि शुक्रबारसम्म यी जिल्लाहरूका विभिन्न स्थानमा मध्यम तथा केही स्थानमा भारी वर्षाको प्रक्षेपण गरिएको छ।

बुलेटिनअनुसार बुधबार राति गोरखा र चितवनका एक-दुई स्थानमा भारी वर्षा तथा केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। रसुवा, धादिङ र नुवाकोटका केही स्थानमा भने मध्यम वर्षा हुनेछ। बुधबार गोरखा र चितवनमा वर्षाको जोखिमका कारण अद्यावधिक हुन आग्रह गरिएको छ।

यसैगरी, बिहीबार दिउँसो रसुवा र गोरखाका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले यी दुई जिल्लामा सतर्कताको पहेँलो संकेत दिइएको छ।

सोही दिन धादिङ, नुवाकोट र चितवनका केही स्थानमा मध्यम वर्षा हुनेछ भने रातिको समयमा गोरखाका केही स्थान र अन्य चार जिल्लाका थोरै स्थानमा मध्यम वर्षा हुने प्राधिकरणले जनाएको छ।

शुक्रबार दिउँसो वर्षाको जोखिम झन् बढ्ने देखिएको छ। शुक्रबार दिउँसो रसुवा, धादिङ, नुवाकोट र गोरखाका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले चारवटै जिल्लालाई पहेँलो सूचीमा राखिएको छ।

चितवनमा भने मध्यम वर्षाको सम्भावना रहनेछ। शुक्रबार राति सबै पाँचवटै जिल्लाका थोरै स्थानमा मध्यम वर्षा हुने पूर्वानुमान छ।

प्राधिकरणले १० मिलिमिटरसम्मलाई हल्का, १० देखि ५० मिलिमिटरसम्मलाई मध्यम र ५० देखि १०० मिलिमिटरसम्मलाई भारी वर्षाका रूपमा वर्गीकरण गर्दै नदी तटीय क्षेत्र तथा पहिरोको जोखिम भएका ठाउँमा विशेष सावधानी अपनाउन अनुरोध गरेको छ।

प्रकाशित: ३१ भाद्र २०८३ १७:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App