२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
समाज

पोखरा–३३ का वडाध्यक्ष खुकुरी नचाउँदै पुगेपछि...

पोखरा महानगरपालिका वडा नम्बर–३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीले प्रदर्शनकारी माथि खुकुरी प्रहार गर्ने प्रयास गरेका छन् । पोखरा–३३ स्थित पुँडीटारमा प्रस्तावित ल्याण्डफिल साईडको विरोधमा वडा कार्यालय अगाडि प्रदर्शन गर्न पुगेका प्रदर्शनकारीलाई उनले खुकुरी प्रहारको प्रयास गरेका हुन् ।  

पोखरा महानगरपालिकाले पुँडीटारमा ल्याण्डफिल साईड बनाउने भनेदेखि नै त्यहाँका स्थानीय विरोधमा छन् । बारम्बार आवाज उठाउँदा पनि अटेर गरेपछि उनीहरु शुक्रबार वडा कार्यालय घेराउ गर्न पुगेका थिए । सो क्रममा उनीहरुले गेटमा ताला लगाएर प्रदर्शन गरिरहेका थिए ।  

वडा कार्यालय पुगि नसकेका वडाध्यक्ष अधिकारी आन्दोलन चलिरहँदा खुकुरी लिएर पुगेको स्थानीय पत्रकार सञ्जय आचार्यले जानकारी दिए । गेटमा ताला लगाउने बेलामा वडाध्यक्ष वडा कार्यालयमा हुनुहुन्थेन,उनले भने,‘पछि एक्कासी आएर खुकुरी नचाउन थाल्नुभयो ।’ वडाध्यक्ष अधिकारीले को हो यहाँ ताला लगाउने ? देखाईदिउँ ? हिम्मत छ ? भन्दै खुकुरी नचाएको उनले बताए ।  

खुकुरी नचाउँदै तर्साउन थालेपछि वडाध्यक्ष अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई प्रहरी भ्यानमा हालेर जिल्ला प्रहरी कार्यालयतर्फ लगेको पत्रकार आचार्यले जानकारी दिए ।  

कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) हरिबहादुर बस्नेतले भने वडाध्यक्ष अधिकारीलाई पक्राउ गरेको नभई सुरक्षित गरिएको बताए । ‘झडप नहोस र दुबैतर्फ क्षेती नपुगोस् भनेर वडाध्यक्ष ज्यूलाई हामीले सुरक्षित गर्न जिप्रका ल्याएका छौं’–उनले भने । उनले वडाध्यक्ष अधिकारीले हतियार प्रयोग गरेको भएनभएको बारेमा अनुसन्धान भइरहेको बताए । हतियार देखिएको छ,उनले भने,‘तर त्यो हतियार उहाँले कहाँबाट लैजानु भएको हो ? स्थानिय कसैले दिएको हो कि ? प्रदर्शनकारीले पो खोस्नु भएको हो कि ? हामी अनुसन्धान गरिरहेका छौं ।’  

वडाध्यक्ष अधिकारीले हतियार देखाएपछि स्थानिय प्रदर्शनकारी थप आक्रोषित भएका छन् । त्यस क्रममा प्रदर्शनकारीले वडाध्यक्षको कार तोडफोड गरिदिएका छन् । उनीहरुले ढुंगामुढा गर्दै गाडी तोडफोड गरिदिएको अधिकारीले जानकारी दिए । उनीहरुले वडा कार्यालयको गेट र वडाध्यक्षको कार्यकक्षमासमेत ताला लगाएर प्रदर्शन जारी राखेका छन् ।  

स्थानिय दीनेश आचार्यले आफूहरुलाई ल्याण्डफिल साईड कुनै पनि हालतमा स्वीकार्य नहुने बताए । भरतपोखरीको पहिचान ल्याण्डफिल होईन,उनले भने,‘पोखरा–३३ भरतपोखरीमा कुनै पनि हालतमा ल्याण्डफिल साईड स्वीकार्य हुने छैन ।’  

पोखरा अन्र्तराष्ट्रिय विमानस्थल बनाएपछि पोखरा–१४ खाल्टेमसिनामा रहेको ल्याण्डफिल साईड बिस्थापित भएको थियो । विमानस्थल सञ्चालनमा आएको साढे दुई वर्ष बित्दासमेत ल्याण्डफिल साईडको टुंगो अझैसम्म लागेको छैन । महानगरले पोखरा–३३ पुँडीटारमा ल्याण्डफिल साईड बनाउन प्रस्ताव गरे पनि स्थानियको विरोधका कारण निर्णयमा पुग्न सकेको छैन ।

प्रकाशित: २५ पुस २०८२ १६:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App