२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
समाज

पितृकार्यकै बेला महानन्दले सुने छोरा अस्ताएको खबर

महानन्द जोशीलाई हमासको नियन्त्रणबाट छोरा विपीन मुक्त होला भन्ने आशा सोमबार बिहानसम्मै थियो। गाजा क्षेत्रबाट हमासले २० जना बन्धकको नामावली सार्वजनिक गर्दा विपीनको नाम नदेखिएपछि परिवारसँगै उनको प्रतीक्षामा रहेका धेरैको मनमा चिसो पस्यो।

सोमबार दिनभरजसो सामाजिक सञ्जालदेखि सञ्चारमाध्यममा विपीनबारे मिश्रित समाचारहरु आइरहेका बेला विपीनका बुबा महानन्द भने भीमदत्त नगरपालिका–१ स्थित दाजुको घरमा पितृकार्य (श्राद्ध) मा व्यस्त थिए।

तीन दाजु/भाइमा महानन्द कान्छा हुन्। ‘उहाँ कान्छाबुबाको श्राद्धका लागि पितृकार्यमा जुटेकै बेला विपीन अस्ताएको खबर सुनेपछि सन्नाटा छायो’, जोशी परिवारका एक सदस्यले भने, ‘कान्छाबुबाको श्राद्धकै दिन दुई वर्षदेखि पर्खिरहेको छोरा सधैँका लागि नआउने खबरले परिवार स्तब्ध भएको छ।’

सोमबार बिहान विपीनका परिवारजन र इजरायलस्थित नेपाली दूतावाससँग भिडियो ‘कन्फेरेन्स’ मा विपीन नरहेको विषयमा छलफल भए पनि विपीनका दाजु किशोर जोशीले भाइ फर्किन सक्ने आशा जीवितै रहेको बताइरहेका थिए। तर विपीन जीवित नरहेको खबरले परिवार मात्रै नभई सिङ्गो गाउँ स्तब्ध छ।

भीमदत्त नगरपालिका–३ का वडा सदस्य मीना ठगुन्नाले विपीनका परिवारजन एक–दुई दिनभित्र काठमाडौं जाने तयारी रहेको जानकारी दिइन्। विपीनका आमा पद्म र बहिनी पुष्पा रिहाइका लागि दबाब दिन अमेरिका पुगेका थिए। उनीहरु अझै स्वदेश फर्किसकेका छैनन्।

प्रकाशित: २८ आश्विन २०८२ १७:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App