त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मुटुको धड्कन अचानक बन्द हुने अवस्थामा प्राथमिक उपचारका लागि ‘अटोमेटेड एक्सटर्नल डफिब्रुलेटर’ (एईडी) मेसिन जडान गरिएको छ।
दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले विमानस्थलसँगको सहकार्यमा बिहीबार उक्त मेसिन जडान गरेको हो।
आपत्कालीन स्वास्थ्य सेवा सुदृढीकरण गर्ने उद्देश्यले विमानस्थलको अन्तर्राष्ट्रिय प्रस्थान क्षेत्रमा यो मेसिन राखिएको छ। मुटुको धड्कन अचानक रोकिने अवस्थामा विद्युतीय झड्कामार्फत धड्कनलाई पुनः सुचारु गर्न यो मेसिन प्रयोग गरिन्छ।
हाप्सा नेपालका संस्थापक डा. रामु खरेलका अनुसार विश्वभर नै मुटुको धड्कन अचानक बन्द हुने समस्या प्रमुख स्वास्थ्य चुनौतीका रूपमा रहेको छ।
विमानस्थल जस्तो व्यस्त ठाउँमा यस्तो आपत्कालीन अवस्था आइपर्दा एईडी मेसिनले यात्रुको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने उनले बताए।
यो मेसिन तालिम प्राप्त व्यक्तिले मात्र नभई साधारण नागरिकले पनि सहजै प्रयोग गर्न सक्ने गरी डिजाइन गरिएको छ।
मेसिनमा निर्देशन र ‘क्यूआर’ कोड समावेश गरिएकाले आपत्कालीन अवस्थामा प्रयोग गर्ने विधि भिडियोमार्फत तुरुन्त हेरेर सिक्न सकिने हाप्सा नेपालले जनाएको छ।
हाप्सा नेपालले यसअघि सशस्त्र प्रहरी बलका दुई हजारभन्दा बढी जनशक्तिलाई आकस्मिक उपचार विधि (सीपीआर) तालिम दिइसकेको छ।
संस्थाले विद्यालयहरूमा तालिम सञ्चालन गर्नुका साथै शिक्षा मन्त्रालयको पाठ्यक्रममा आकस्मिक उपचारसम्बन्धी विषय समावेश गर्न समेत पहल गरिरहेको छ।
प्रकाशित: २६ चैत्र २०८२ २१:४१ बिहीबार





