२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

‘जेन जी’ को प्रदर्शनलाई प्रशासनको अनुमति, सुरक्षा व्यवस्था मिलाइने

‘जेन जी’ पुस्ताले सोमबार आयोजना गर्न लागेको भ्रष्टाचारविरुद्धको प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले औपचारिक अनुमति दिएको छ।

प्रमुख जिल्ला अधिकारी छवि रिजालले माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शनका लागि अनुमति दिइएको र आवश्यक सुरक्षा व्यवस्था मिलाइने बताए।

उनका अनुसार, प्रदर्शनका आयोजक युवाहरूले आफ्नो कार्यक्रम पूर्ण रूपमा शान्तिपूर्ण र भद्र हुने प्रतिबद्धता जनाएका छन्।

‘उहाँहरूले हामी भद्र तरिकाले प्रस्तुत हुन्छौं, कुनै नाराबाजी वा तोडफोड हुँदैन, टिसर्ट लगाएर शान्तिपूर्ण प्रदर्शन मात्रै गर्छौं भन्नुभएको छ,’ प्रजिअ रिजालले नागरिकन्युजसँग भने।

उनले प्रदर्शनका लागि माइतीघरदेखि एभरेष्ट होटलसम्मको क्षेत्र तोकिएको जानकारी दिए।

‘वेक अप नेपाल क्याम्पेन’ का नाममा कार्यक्रम संयोजक सबल गौतम र पुरुषोत्तम यादवले जिल्ला प्रशासन कार्यालयलाई पत्र लेख्दै शान्ति सुरक्षाको व्यवस्था मिलाइदिन आग्रह गरेका थिए।

’स्वतन्त्र युवाहरूको सहभागिता रहने भएकाले कार्यक्रम सुव्यवस्थित, मर्यादित र शान्तिपूर्ण वातावरणमा सम्पन्न होस् भन्ने उद्देश्यले सहकार्य आवश्यक छ,’ पत्रमा उल्लेख छ।

सरकारले दर्ता नभएका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि जेन जी पुस्ताले भ्रष्टाचार र सरकारी निर्णय दुवैको विरोधमा सडकमा उत्रिने घोषणा गरेका थिए।

यही घोषणाअनुसार उनीहरूले सोमबार बिहान ११ बजे माइतीघरमा प्रदर्शनका लागि औपचारिक अनुमति मागेका हुन्।

प्रजिअ रिजालले प्रदर्शनलाई शान्तिपूर्ण राख्न र कुनै अप्रिय घटना हुन नदिन प्रशासनले पर्याप्त सुरक्षाकर्मी परिचालन गर्ने बताए। ‘हामी भोलि स्थितिको मूल्यांकन गरेर सुरक्षाकर्मीको संख्या बढाउँछौं,’ उनले भने।

प्रकाशित: २२ भाद्र २०८२ १६:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App