९ भाद्र २०८३ मंगलबार
image/svg+xml
समाज

लुकाइएको साइनो खोज्दै ‘पेन्सन पट्टा’

अभिनेता दयाहाङ राईको मुख्य भूमिका रहेको बहुप्रतीक्षित चलचित्र ‘पेन्सन पट्टा’ प्रदर्शनका लागि तयार छ। अभिनेता तथा निर्देशक माओत्से गुरुङको लेखन तथा निर्देशनमा बनेको यस चलचित्रले ग्रामीण परिवेशको पारिवारिक कथा र प्रेम सम्बन्धलाई मुख्य विषयवस्तु बनाएको छ।

मंगलबार राजधानीमा एक कार्यक्रमका बीच चलचित्रको टिजर सार्वजनिक गरिएसँगै यसको औपचारिक प्रचारप्रसार आरम्भ गरिएको हो।

टिजर सार्वजनिक कार्यक्रममा निर्देशक माओत्से गुरुङले चलचित्रको कथा आफ्नै पारिवारिक पृष्ठभूमि र वास्तविक जीवनको भोगाइसँग जोडिएको सुनाए।

करिब १२/१५ वर्षअघि भारतीय सेनाबाट निवृत्त भएका आफ्ना हजुरबुवाको निधनपछि हजुरआमाले भोग्नुपरेको कानुनी जटिलता र पेन्सन नपाएको तीतो यथार्थ स्मरण गर्दै उनले भने, ‘हजुरबुवा बित्नुभएपछि हजुरआमाले पेन्सन पाउनुभएन। त्यो घटनाले मलाई भित्रैसम्म छोएको थियो। पछि मेरो कान्छा बुवा बित्दा पनि परिवारमा त्यही नियति दोहोरियो।’

यही व्यक्तिगत पीडापछि यसबारे गहिरो बुझ्न खोज्दा ८ हजारभन्दा बढी भूतपूर्व गोर्खाली परिवार यस्तै समस्याबाट पीडित रहेको तथ्य फेला पारेको निर्देशक गुरुङले बताए।

उनले थपे, ‘यो केवल मेरो परिवारको मात्र नभई हजारौं गोर्खालीहरूको मुद्दा रहेछ। त्यसैले यो कथा पर्दामार्फत दर्शकमाझ आउनुपर्छ भन्ने मलाई लाग्यो।’

यो चलचित्रले लाहुरे दाजुभाइलाई कानुनी प्रक्रियाबारे सचेत गराउनुका साथै उनीहरूको सङ्घर्ष, प्रेम र सम्बन्धलाई नजिकबाट बुझ्न सघाउने उनको विश्वास छ।

चलचित्रबारे बोल्दै अभिनेता दयाहाङ राईले पेन्सन पट्टा अन्य चलचित्रभन्दा भिन्न र यथार्थपरक बनेको बताए। सेवा निवृत्त लाहुरेको जीवन र पेन्सनसँग जोडिएको कागजी जटिलताको कथावस्तु प्रस्तुत गरिएको उल्लेख गर्दै उनले भने, ‘यसमा वर्षौँदेखि लुकाइएको एउटा पारिवारिक साइनो र त्यसपछिको उतारचढावलाई देखाइएको छ।’

आफ्नो चरित्रबारे प्रकाश पार्दै दयाहाङले थपे, ‘मेरो भूमिका एक सामान्य मान्छेको हो, जसले सुरुमा घरपरिवारको जिम्मेवारी लिन चाहँदैन, तर परिस्थितिले बिस्तारै उसलाई जिम्मेवारीको घेराभित्र बाँध्दै लैजान्छ।’

त्यस्तै, अभिनेत्री लुनिभा तुलाधरले चलचित्रमा आफ्नो भूमिका निकै रमाइलो र कथाको महत्त्वपूर्ण कडीका रूपमा रहेको बताइन्। छायांकनकै क्रममा आफूले ४२औं जन्मदिन मनाएको स्मरण गर्दै उनले आगामी दिनमा घरपरिवार र करिअरलाई सँगसँगै अगाडि बढाउने आत्मनिर्भर महिलाको भूमिकामा अभिनय गर्ने चाहना व्यक्त गरिन्।

चलचित्रमा दयाहाङ राई, लुनिभा तुलाधर, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सनविक्रम राई, पुष्कर गुरुङ, पशुपति राई, स्वर्गीय सुनिल थापा, सोल गुरुङ, मनोज गुरुङ तथा अनुशा राईलगायतका कलाकारको अभिनय रहेको छ।

सामाजिक यथार्थ र पारिवारिक संवेदना समेटिएको यस चलचित्र हरितालिका तीजको अवसर पारेर आगामी भदौ २६ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउँदैछ।

प्रकाशित: ९ भाद्र २०८३ २१:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App