राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयलाई राज्यसत्ताको चरम दुरुपयोग भनेका छन्।
बुधबार सामाजिक सञ्जालमार्फत उनले व्यक्तिगत स्वार्थका आधारमा गरिएको कारबाही भ्रष्ट आचरण भएको टिप्पणी गरेका हुन्।
सांसद शाहीले अपराध गरे कानुनअनुसार कारबाही गर्नुपर्ने बताए। उनले लेखेका छन्, ‘आईजीपीले कुनै अपराध गरेका हुन् भने प्रधानमन्त्रीको सल्लाहकार बनाएर होइन, कानुनअनुसार कारबाही गरेर जेल हाल्ने हो।’
उनले अगाडि भने, ‘यदि आईजीपीले कुनै गल्ती गरेका छैनन् र कुनै पनि कानुनविपरीत काम गरेका छैनन् भने व्यक्तिगत स्वार्थका आधारमा कारबाही गर्नु राज्यसत्ताको चरम दुरुपयोग हो। भ्रष्ट आचरण हो।’
मन्त्रिपरिषद्को भर्खरै सम्पन्न बैठकले कार्कीलाई आईजीपीबाट हटाएर अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई नयाँ महानिरीक्षक बनाउने निर्णय गरेको थियो।
यसैबीच, सरकारको उक्त निर्णयविरुद्ध बर्खास्तमा परेका कार्की भने अदालत जाने भएका छन्। निर्णय सार्वजनिक भएलगत्तै उनले आफूनिकट व्यक्तिहरूसँग कानुनी उपचार खोज्ने प्रतिक्रिया दिएका थिए।
प्रकाशित: १८ कार्तिक २०८३ १४:५७ बुधबार





