मोरङमा पैदलयात्रीलाई ठक्कर दिई फरार भएका चालकलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार साउन ३ गते कानेपोखरी गाउँपालिका–७ स्थित पूर्व–पश्चिम राजमार्गमा नम्बर नखुलेको सवारीसाधनले पैदलयात्री पथरीशनिश्चरे–१०, त्रिवेणी चोक निवासी ६० वर्षीय गोविन्द तिम्सिनालाई ठक्कर दिएको थियो।
गम्भीर घाइते भएका तिम्सिनाको उपचारका क्रममा मृत्यु भएको थियो।
घटनापछि फरार रहेका चालक र सवारीको खोजतलासका क्रममा इलाका प्रहरी कार्यालय पथरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले साउन ६ गते राति सुनसरीको इटहरी उपमहानगरपालिका–५ स्थित हेभी इक्विपमेन्ट सडक डिभिजन कार्यालय परिसरमा लुकाइराखिएको अवस्थामा बा २ च २२२६ नम्बरको स्कर्पियो फेला पारेको प्रहरीले जनाएको छ।
सोही क्रममा उक्त सवारीका चालक सिराहाको सुखीपुर गाउँपालिका–८ निवासी ४४ वर्षीय राम उदगार मण्डललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले पक्राउ परेका चालक र सवारीसाधनलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
प्रकाशित: ७ श्रावण २०८३ १३:०६ बिहीबार





-600x400-wm.jpg)